कुरा मिलेपछि पौडेलद्वारा देउवाको तारिफ, दुई महामन्त्रीले पाए विशेष जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको विवाद समाधानका लागि सहमति प्रस्ताव तयार पार्ने जिम्मेवारी महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइरालालाई दिइएको छ ।

काठमाडौंको बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहका १६ बुँदे ज्ञापन पत्रका विषयमा सहमतिको प्रस्ताव बनाउन दुई महामन्त्रीलाई जिम्मेवारी दिइएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

महामन्त्रीद्वय खड्का र डा.कोइरालाले आफ्नो पक्षका केही नेताहरूलाई राखेर प्रस्ताव तयार पार्नेछन् । कात्तिक २७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठक सो प्रस्ताव पेश गर्ने सहमति पदाधिकारी बैठकमा भएको छ ।

विभाग गठन, समायोजन र क्रियाशील सदस्यता, भ्रातृ तथा सुभेक्षुक संगठन लगायतका विषयमा पौडेल–कोइराला समूहले असोज १२ गते १६ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

पौडेल–कोइराला समूहले विभिन्न मागहरू राखेपछि सभापति देउवाले सहमति खोज्न पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका थिए । लगातारको छलफलपछि कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरूमा विवाद समाधान गर्न सहमति जुटेको छ ।

सभापति देउवाले विभाग गठनको विषयलाई अडान नलिन पौडेल–कोइराला समूहसँग आग्रह गरेका थिए । देउवाको आग्रहअनुसार पौडेल–कोइराला समूह विभाग विघठनको मागबाट लचक भएको छ ।

सोही कारण कांग्रेसभित्रको विवाद समाधानतिर गएको छ । बैठकमा वरिष्ठ नेता पौडेलले आफूहरूको मागका विषयमा सभापति देउवाले सहमति खोज्न प्रयास गरेको भन्दै धन्यावाद दिएका छन् । पौडेलले नेकपामा जस्तो खड्गप्रसाद ओलीले असन्तुष्ट पक्षको मागको सुनुवाई नै नगर्ने जस्तो कार्य नभएको भन्दै सभापति देउवालाई धन्यावाद दिएका छन् ।

सभापति देउवा कांग्रेस प्रवेश गरेकाहरूलाई दिइएको क्रियाशील सदस्यतालाई विधानअनुसार मिलाउन सहमत भएका छन् ।

आइतबारको बैठकमा १४औं महाधिवेशनको मितिबारे भने कुनै छलफल भएन । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाए पनि त्यसअनुसार समायोजन, क्रियाशील सदस्यता वितरण लगायतका काम हुन सकेका छैनन् ।

कांग्रेसका नेताहरूले फागुनमा महाधिवेशन हुन्न सक्दैन भन्ने राम्रोसँग बुझेका छन् । तैपनि नयाँ मिति तोक्न कोही तयार छैनन् । वरिष्ठ नेता पौडेल महाधिवशेनको मिति सार्ने पक्षमा छैनन् ।

क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा भने देउवाले रमेश लेखक प्रस्ताव गरेका छन् । वरिष्ठ नेता पौडेलले भने यसबारे सल्लाह गरौंला भनेको एक नेताले जानकारी दिएका छन् ।

नेता नरहरि आचार्यलाई संयोजक बनाउने र देउवा पक्षका ३, पौडेल पक्षका २ र सिटौला तथा गच्छदार पक्षका एक–एक जना राख्ने सहमति भएको थियो ।

स्वास्थ्यका कारण आचार्यले संयोजक बन्न अस्वीकार गरेपछि देउवाले आफू निकटका लेखकलाई अघि सारेका हुन् ।

कांग्रेसभित्रको लामो समयदेखिको विवाद समाधानतिर जाने भएको छ । कम्युनिस्टहरूले मुलुकलाई तहस–नहस बनाएको भनेर आरोप लागेका बेला कांग्रेसका नेताहरू सहमति नजिक पुगेर कार्यकर्ताहरूलाई सकारात्मक सन्देश दिएका छन् ।

Published : Sunday, 2020 November 8, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया