यस्तो छ देउवाको सहमतिको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भइरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसको विवाद पनि सतहमा देखिएको छ ।

१४औँ महाधिवेशनलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले विभिन्न माग राखेर बखेडा गरेपछि कांग्रेसभित्र सहमति हुन नसकेको हो ।

पौडेल–कोइराला समूहले बुझाएको ज्ञापन–पत्रका विषयमा शनिबार काठमाडौंमा बसेको पदाधिकारी र शीर्ष नेताहरूको बैठकमा छलफल भएको छ ।

पौडेल–कोइराला समूहले ज्ञापन–पत्रमा रहेका मागहरूबाट लचक हुने संकेत नगरेपछि बैठक बिनाकुनै निष्कर्ष सकिएको छ ।

सभापति शेरबहादुर देउवाले गठन भइसकेका विभाग विघटन गर्ने पक्षमा छैनन् । उनले विभाग बाहेक अन्य सबै मागमा आफू लचक रहेको संकेत गरेका छन् ।

पौडेल–कोइराला समूहले विभागहरू बिघठन हुनैपर्ने अडानलाई दोहोर्‍याएको छ । देउवाले आफूलाई पहिलाभन्दा धेरै हदसम्म लचक बनाएका एक नेताले बताए ।

उपसभापति विजयकुमार गच्छदार, सह–महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले धारणा राखेका छन् ।

सभापति देउवाले सहमतिका लागि प्रस्ताव बनाएर ल्याएका थिए । त्यो प्रस्तावमा पौडेल–कोइराला समूहले असन्तुष्टि जनाएको छ । विभागहरूलाई यथावत राख्ने, फागुनको महाधिवेशन भदौसम्म सार्नेलगायतका प्रस्ताव रहेको स्रोतोका दाबी छ । प्रस्तावका विषयमा नेताहरूले औपचारिक रुपमा केही भनेका छैनन् ।

पार्टी समायोजन, क्रियाशील सदस्यता वितरण, विभाग गठनलगायतमा पौडेल–कोइराला समूहले असन्तुष्टि जनाउँदै आएको छ । पौडेल–कोइराला समूहका २७ जना केन्द्रीय सदस्यहरूले १६ बुँदे माग राखेर असोज ११ गते ज्ञापनपत्र बुझाएका थिए ।

कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म १४औँ महाधिवेशन गर्ने मिति तोकेको छ । त्यसअघि गर्नुपर्ने पूर्वतयारी हुन सकेको छैन ।

सोमबारदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्ने भनिएको छ । बैठक अगाडि सहमति जुटाउन देउवाले सबै शक्ति लगाएका छन् । महाधिवेशनमा एजेण्डा खोजीरहेको पौडेल–कोइराला समूहले देउवालाई अफ्ठ्यारो बनाउँदै आएको छ ।

Published : Saturday, 2020 November 7, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया