बालुवाटारमा खुमलटारको ‘बिन्ती पत्र’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष खड्गप्रसाद ओलीलाई भेटेर ‘विन्ती पत्र’ दिएको चर्चा शुरु भएको छ ।

सामाजिक सञ्जालहरूमा आफ्नै पार्टीको बैठक बोलाउनका लागि दाहालले ओलीलाई लिखित पत्र बुझाएको विषयलाई ‘विन्ति पत्र’को संज्ञा दिएका छन् । दाहालले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पछाडि–पछाडि लगाएर बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका हुन् ।

दाहाल नेकपामा सबैभन्दा निरिह बनेका छन् । बैठक बोलाउन पनि ओली समक्ष लिखित पत्र अर्थात ‘बिन्ती पत्र’ बुझाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

बालुवाटारमा ओलीसँग दाहालसहित पुगेका नेताहरूले असन्तुष्टिहरू राखेका थिए । उनीहरूले सरकार र पार्टीमा एकलौटी रुपमा काम गरेको भन्दै ओलीको आलोचना गरेको समाचारहरू बाहिरिएका छन् ।

ओलीले पनि गुटका बैठक र भेलाहरू गरिरहेको भन्दै दाहालसहितका नेताहरूको आलोचना गरेको स्रोतले जनाएको छ । बालुवाटारको शनिबारको भेटघाटमा दाहाल समूहले छिटोभन्दा छिटो सचिवालयको बैठक बोलाउन भनेको छ । ओलीले स्पष्ट जवाफ दिएका छैनन् । दाहाल समूहले दुई–तीन दिनभित्र ओलीले सचिवालयको बैठक बोलाउनुपर्ने अडानमा छ ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका दाहालले पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाएका थिए । त्यो बैठकमा ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा गएका थिएनन् ।

ओली समूहले बैठक बहिस्कार गरेपछि तनाबमा परेका दाहालले नेपाल, खनाल, गौतम र श्रेष्ठलाई साथमा लिएर बालुवाटार पुगेका हुन् ।

दोस्रो वरीयताका अध्यक्ष दाहालसहितको समूहले ओलीलाई शुरुदेखि नै असहयोग गर्दै आएको छ । सरकारको आलोचना गर्नेदेखि पार्टीबाट पनि दाहाल समूहले ओलीको खेदो खन्दै आएको छ ।

दाहालसहितका नेताहरूको दवाव र असहयोग नरोकिएपछि प्रधानमन्त्री ओलीले पनि आफूलाई बलियो रुपमा प्रस्तुत गरिरहेका छन् । ओली कडा रुपमा प्रस्तुत भएपछि दाहाललाई सबैभन्दा धेरै तनाब भएको छ ।

Published : Saturday, 2020 November 7, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया