प्रचण्डज्यू कि हिम्मत गर्नुस्, हाेइन भने ‘नाैटंकी’ नदेखाउनुस्

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच विवाद भएपनि तत्काल पार्टी भने फुट्नेछैन । पार्टी फुटाउन केपी ओली वा पुष्पकमल दाहाल प्रचण्डलाई संसदस्य दल र पार्टीमा ६०–४० को संख्या पुर्‍याउनुपर्छ । ओलीले पार्टी विभाजन गर्न दाहाललाई अफर दिइसकेका छन् ।

दाहालले पार्टी फुटाउन हिम्मत गर्न सकिरहेका छैनन् । दाहालले संसदीय दलमा ४० प्रतिशत सांसद पुर्‍याउन सक्दैन कि भनेर पार्टी फुटाउनबाट ब्याक भएको नेकपा नेताहरूले बताउन थालेका छन् ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलले ओलीलाई भेटेपछि नेकपाभित्र विवादले अलिक ठूलो विवाद भएको छ । दाहालले ओलीलाई ‘रअ’का प्रमुख भेटेपछि बखेडा झिकेको आरोप लगाइरहेका छन् । नेकपा तत्काल फुट्ने छैन । पार्टी फुटाउने हो भने हल्लाखल्ला हुँदैन । यसअघि जति पनि राजनीतिक दलहरू फुटेको छ ती सबै अकस्मात फुटेका छन् ।

दाहालसँग पार्टी फुटाउने हिम्मत छैन । उनले ओलीको मातहतमा बसेर अझै एक वर्ष काम गर्नेछन् । ओलीसँग प्रधानमन्त्री पद मागेको आरोप लागेका दाहालसँग सांसदहरू धेरै छन्नन् भन्ने धेरैको बुझाइ छ । पूर्वमाओवादीका सांसद र नेताहरूले पनि दाहाललाई छाडेको चर्चा भइरहेको छ । रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरूले दाहालको साथ छाडेको चर्चा ।

पूर्वएमालेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरूले पनि ओलीलाई नै साथ दिनेछन् । ओलीको व्यवहारबाट आजित भनेका नेपाल, खनाल र गौतमलगायतका नेताहरू दाहालसँग निकट भए पनि अन्त्यमा पूर्वएमालेतिरै जानेछन् । दाहाललाई अन्तिममा पूर्वएमालेका नेताहरू साथ दिने छैनन् ।

सिद्धान्तभन्दा पनि व्यक्तिगत लेनदेन र व्यापारिक कुरामा पार्टी एकीकरण भएकाले ओली र दाहालबीच अहिलेकै जस्तो अवस्था रहन सक्छ । दाहाललाई पार्टी फुटाएर जाने अवस्था पनि छैन । ओलीले पनि दाहाललाई पार्टी र सरकारमा स्थान दिने पक्षमा छैनन् । दाहालले चाहेर पनि नचाहेर पनि नेकपामा ओलीको नेतृत्व स्वीकार गरेर बस्नुभन्दा अर्को बिकल्प छैन । दाहालले ओलीको निर्देशनलाई मानेर पार्टीमा काम गर्नुपर्नेछ ।

ओलीले संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई पनि हटाउन चाहेका छन् । यो कुरा राम्रोसँग बुझेका दाहाल र गुरुङले तत्काल ओलीसँग तनाव लिने पक्षमा छैनन् । दाहाल निकट मानिने गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउँदा दाहालको हातै भाँच्चिनेछ । दाहालले सबै कुरा भुलेर ओलीसँग मिलेर जानेभन्दा अर्को विकल्प रहेको छैन ।

Published : Saturday, 2020 November 7, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया