खुमलटारको ‘हर्कत’ले बालुवाटार झस्कियो, यसरी हुँदैछ भित्रभित्रै तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद बढिरहेका बेला दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक भेटवार्ता र परामर्शहरूलाई तिब्र बनाएका छन् ।

दाहालले आफू निकटका सांसद, नेता र कानून व्यवसायीहरूलाई धमाधम भेट गरिरहेका छन् । ती भेट र भेलाहरूमा भएका कुराकानीका विषयमा बाहिर केही भनिएको छैन । तर, ती भेट र भेलाहरूले सरकारलाई असहयोग भएको सन्देश बाहिर आइरहेको छ ।

दाहालले बिहीबार कोटेश्वरस्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा कानून व्यवसायीहरूसँग परामर्श गरेका छन् ।

दाहालसँगै वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका थिए । उनीहरूले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डीश्वर श्रेष्ठ, पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानलगायतसँग परामर्श गरेका थिए ।

कोटेश्वरको परामर्शपछि दाहालले खुमलटारस्थित आफ्नै निवासमा सांसद रामनारायण बिडारीसहितका पूर्वमाओवादी सांसदहरूसँग अलग–अलग परामर्श गरेका छन् ।

ती परामर्शहरूमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीसँगको विवाद र कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालनमा असहयोग गर्दै आएका दाहालले गुटका बैठक र भेलाहरू बाक्लै गर्दै आएका छन् । उनले नेकपा र सरकारमा के खोजेका छन् भन्नेबारेमा नेताहरूलाई नै थाहा छैन ।

हुन त ओलीलाई प्रधानमन्त्रीबाट हटाउन दाहालले आफू निकटका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएको चर्चा पनि छ ।

एउटा रेडियोसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले प्रधानमन्त्रीलाई हटाउन दाहालले आफू निकटका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएको र अविश्वासको प्रस्ताव दर्ताको तयारीमा रहेको बताएका थिए ।

दाहालले नेकपाभित्रको विवादलाई समाधान गरेर अगाडि बढ्नुको साटो गुटका भेलाहरू गरेर प्रधानमन्त्री ओली र सरकारलाई असहयोग गर्दै आएको आरोप लागेको छ ।

दाहालले पछिल्लो समय गरिरहेको गतिविधिलाई नेकपाभित्रकै नेताहरूले समेत बुझ्न सकेका छैनन् । दाहालले विशेष गरेर पूर्वमाओवादी नेता र सांसदहरूलाई एक्लाएक्लै भेटेर परामर्श गर्नुलाई नेताहरूले बुझ्न सकेका छैनन् ।

Published : Friday, 2020 November 6, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया