पर्सामा नेकपाका सात सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

वीरगञ्ज । पर्सा जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र तत्कालीन संघीय समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पकाहमैनपुर गाउँपालिका–५ मा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सात सायभन्दा धेरै नेकपा र समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

पकाहमैनपुर गाउँपालिका–५ का कांग्रेसका सभापति बलिराम चौरसियाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा र तत्कालीन संघीय समाजवादी पार्टी लगायतका विभिन्न पार्टी परित्याग गरी क्षेत्र नम्बर १ देखि ४ सम्मका सात सयभन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

विगतमा संघीय समाजवादी पार्टीको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार समेत रहेका व्यक्तिहरूले कांग्रेसमा प्रवेश गरेको तरुण दलका पूर्व केन्द्रीय सदस्य नवीन सिंहले जानकारी दिएका छन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन विभागका प्रमुख रमेश रिजाल, केन्द्रीय सदस्य एवम् तराई मधेस विभाग समन्वय समितिका प्रमुख अजय चौरसीया, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीलगायतका नेताहरूले अबिर तथा फूलमाला लगाएर स्वागत गरेका छन् ।

नेता रिजालले जनताको हक अधिकार एवम् जीवनस्तरलाई माथि उठाउन नसकेको बताए । सरकार हरेक ठाउँमा असफल भएको बताएका छन् ।

नेता चौरसियाले कांग्रेस सत्तामा हुँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध सुमधुर हुनुका साथै उद्योग व्यावसाय फस्टाउनु, सामाजिक न्याय कानूनी व्यवस्था र महिलाको अधिकार स्थापित भएको विगतले देखाएको स्मरण गरे ।

कार्यक्रममा नेताहरू बब्लु श्रीवास्तव, रमेश पाण्डे, वशिष्ठ नारायण कुर्मी, प्रदेश सभा सदस्य शंकर चौधरी, जिल्ला सदस्य धर्मेद्र पटेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Published : Wednesday, 2020 November 4, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया