नेकपामा सबैभन्दा धेरै पीडित दाहाल

काठमाडौं । नेकपाभित्र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल सबैभन्दा धेरै तनाबमा परेका छन् । दाहालले नेकपामा आफू खुसी कुनै पनि निर्णयहरू गर्न पाएका छैनन् । हालैसम्पन्न स्थायी समितिको बैठकले दाहाललाई पार्टी चलाउन एकलौटी कार्यकारी अधिकार दिएको थियो ।

दाहालले कार्यकारी अधिकार प्रयोग गर्न पाइरहेका छैनन् । दाहाललाई बालुवाटारबाट कुनै न कुनै कुरामा अंकुश लागिरहेको छ । दाहालले पार्टी चलाउन आफूलाई असहज भइरहेको निकटका नेताहरूलाई बताइरहेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका पहिलो वरीयताका अध्यक्ष खड्गप्रसाद ओलीले दाहाललाई पार्टी चलाउन अधिकार दिएका छन् । ओलीले दाहाललाई सहज रुपमा काम गर्न दिइरहेका छैनन् ।

कतिपय कुरा बोलाइ र गराइमा फरक पर्छ । ओलीले दाहाललाई नबोलेरै असहयोग गरिरहेका छन् । कोरोनाको महामारीका बेला दाहालले एउटा पनि निर्णय र सर्कुलर गर्न सकेका छैनन् । पार्टी समायोजनका काम अझै पनि बाँकी छ । ओलीले दाहाललाई सबै कुरामा असहयोग गरिरहेका छन् ।

कर्णाली प्रदेशको विवाद पनि ओलीले नै उब्जाएको आरोप छ । चार बुँदे सहमतिसँग कुरा मिले पनि कर्णालीको विवाद फेरि उठ्दैन भन्न सकिदैन । कर्णाली मात्रै होइन सुदूरपश्चिम प्रदेशमा पनि विवाद उठ्यो भने आश्चर्य नमानेपनि हुन्छ । आफूलाई असहज हुनेवित्तिकै ओलीले कुनै न कुनै विवाद वा बखेडा निकाल्ने गरेको पूर्वमाओवादी निकटका एक नेताले बताएका छन् । ‘ओलीजीले आफूलाई असहज हुनेवित्तिकै कुनै न कुनै विवाद निकाल्नु हुन्छ’, ती नेताले भने, ‘अहिलेसम्मका सबै कुरा हेर्ने हो भने ओलीबाटै दाहाललाई असहयोग भइरहेको छ ।’

मन्त्रिपरिषद पुनर्गठनमा पनि ओलीले आफ्ना मान्छेहरूलाई मात्रै मन्त्री बनाए । आफ्ना विरोधीहरूलाई कसरी तह लगाउनुपर्छ ओलीलाई राम्रोसँग जानकारी छ । ओली पार्टीभित्रको आन्तरिक विषयमा सार्वजनिक रुपमा बोल्दैनन् । नबोलेरै आफ्ना विरोधीलाई ठेगान लगाउने उनको पुरानै राजनीतिक तिकडम हो । ओलीको यी सबै गतिविधिबाट दाहाल आजित बनेका छन् ।

कर्णालीको विवाद समाधान गर्न बालुवाटारमा राखिएको संयुक्त बैठकलाई दाहालले बहिस्कार गर्नेसम्मको अवस्था सिर्जना भएको थियो । पछि कुरा मिलेको छ । ओलीभन्दा पनि दाहाललाई मिल्नुपर्ने बाध्यता छ । होइन भने पार्टीमा काम गर्नै नसक्ने हुन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको नेकपामा राम्रो पकड छ । नेता नेपालले आफ्नो भूमिकालाई बाहिर ल्याउन चाहेका छैनन् । दाहालसँग मिलेर ओलीलाई तह लगाउन सकिन्छ कि भन्ने दाउमा मात्रै नेता नेपाल छन् । यदि नेता नेपाल र दाहाल साच्चिकै मिलेर जाने हो ओली समस्यामा पर्छन् ।

यही कुरा बुझेर ओलीले दाहाल र नेपाललाई धेरै नजिक हुन दिँदैनन् । दाहाल र नेपाल धेरै नजिक हुन थाल्नेवित्तिकै ओलीले दुबै नेतालाई एक्लाएक्लै भेटेर आफ्नो पक्षमा बनाइ हाल्छन् । अहिलेसम्मको रणनीतिबाट सबैभन्दा धेरै दाहाल नै पीडित बनेका छन् ।

Published : Wednesday, 2020 November 4, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया