कांग्रेससँग तर्सियो कम्युनिस्ट सरकार, नेताहरूलाई धम्काउन शुरु

काठमाडौं । नेपाली कांग्रेसले दशैँपछि सरकारविरुद्ध आन्दोलनको रणनीति बनाएको छ ।

कांग्रेसको रणनीतिले सरकारलाई असजिलो बनाइदिएको छ । कोरोना महामारी रोकथाम र उपचारमा सरकारले देखाएको उदासिनताविरुद्ध कांग्रेस सडकमा जाने पक्षमा देखिएको छ ।

सबैभन्दा ठूलो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सडकमा गयो भने सरकारलाई दवाव पर्नेछ ।

कांग्रेसको आन्दोलनबाट सरकारलाई भित्रभित्रै तनाब बढाइदिएको छ । कांग्रेसले संसदको बैठक बोलाउन पनि दवाव सिर्जना गरिरहेको छ । संसदको बैठक चल्यो भने सरकारलाई झन् दवाव पर्नेछ । प्रधानमन्त्री खड्गप्रसाद ओली कांग्रेसलाई फकाउने पक्षमा छन् । मानेन भने कांग्रेसका नेताहरूलाई धम्काएर भए पनि आन्दोलन तुहाउने योजनामा छन् ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई सम्पत्ति शुद्धीकरणको मुद्धा लगाउने तयारी भएको छ । उनको सबै सम्पत्ति रोक्का गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गच्छदारलाई च्यापेर लगेको छ । गच्छदारको गल्ती छ वा छैन पछि थाहा होला ।

सरकार भने कांग्रेसका नेताहरूलाई सम्पत्ति शुद्धीकरणको डण्डा देखाउन थालिसकेको छ । सरकारले परीक्षणका रुपमा गच्छदारलाई सम्पत्ति शुद्धीकरणको डण्डा चलाएको चर्चा हुन थालेको छ ।

नेपाली कांग्रेसका एकजना केन्द्रीय सदस्यले भने, ‘कांग्रेसको आन्दोलनबाट सरकारलाई तनाब भइरहेको छ । सरकार हरेक ठाउँमा असफल भएको छ । कोरोनाको उपचार र परीक्षणमा पैसा लिने निर्णय गरेर बद्नाम भएको छ । यस्तो अवस्थामा कांग्रेसको आन्दोलन भयो भने सरकारलाई ठूलो समस्या पर्न सक्छ ।’

ती नेताले सरकारले कांग्रेसका नेताहरूलाई विभिन्न बहानामा थर्काएर आन्दोलन तुहाउने योजनामा लागेको संकेत देखिएको बताएका छन् । कांग्रेसका नेताहरू सरकारको कुनै पनि धम्कीबाट डराउनु हुँदैन । बेथितिका विरुद्ध कांग्रेसले सडक र सदन दुबै मोर्चाबाट आन्दोलन चलाउनुपर्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदको बैठक छिटो बोलाउन सरकारलाई दवाव दिनुपर्ने बताएका छन् । ‘यो सरकार हरेक ठाउँमा असफल भएको छ’, उनले भने, ‘कोरोना रोकथाम, नियन्त्रण, उपचार र परीक्षणमा असफल भएको छ । हात उठाएको छ । अब यो सरकारलाई सदन र सडकबाट दवाव सिर्जना गरेर दायित्व बोध गराउनुपर्छ ।’

आफ्नै पार्टीभित्रबाट प्रधानमन्त्री ओली समस्यामा छन् । कोरोनाको महामारीलाई देखाएर ओलीले आफ्नो सत्तालाई लम्बाइरहेका छन् । कांग्रेसले आन्दोलन चलायो भने ओलीको प्रधानमन्त्रीको कुर्सी सुरक्षित रहनेवाला छैन । यो कुरा ओली र उनको सल्लाहकार टिमलाई राम्रोसँग जानकारी छ ।

नेकपामा ओलीलाई कसरी प्रधानमन्त्रीबाट फाल्ने भनेर छलफल र परामर्शहरू नभएका होइनन् । ओलीले कोरोनालाई देखाएर सधैँ ती षड्यन्त्रहरू चिर्न सफल भइरहेका छन् । कांग्रेसले सडक र सदन दुबै मोर्चाबाट आन्दोलन ग¥यो भने ओलीका दिनगन्ती शुरु हुन सक्छ ।

दशैँ पछाडि सरकारको बेथितिविरुद्ध कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुपर्छ । कांग्रेसका कार्यकर्ताहरूको माग पनि आन्दोलनको छ । स्वाथ्य क्षेत्रमा देखिएको बेथितिलाई रोक्न कांग्रेसले दवाव सिर्जना गर्नुपर्ने नेताहरूको भनाइ छ ।

सभापति शेरबहादुर देउवालाई आन्दोलनका लागि दवाव परिरहेको छ । देउवाले दशैँ पछाडि आन्दोलन घोषणा गरेनन् भने उनको आलोचना झन् बढेर जानेछ । आफ्नो बिग्रिएको छवि सुधार गर्न पनि देउवाले सरकारविरुद्ध आन्दोलन घोषणा गर्नुपर्छ ।

Published : Wednesday, 2020 November 4, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया