कांग्रेस बैठकमा पौडेल–कोइराला समूहद्वारा ‘बबण्डर’, विभागहरू विघठन नहुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पार्टी विभाजनसम्म जाने गरेर भाँडभैलो भएका बेला नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले तनाब उत्पन्न गरेको छ ।

ललितपुरको सानेपामा सोमबार बसेको पदाधिकारी बैठकमा पौडेल–कोइराला समूहले सभापति शेरबहादुर देउवालाई असोज १२ गते बुझाएको ज्ञापन पत्रको माग कार्यान्वयन हुनुपर्नेभन्दै भाँडभैलो मच्चाएको हो ।

पौडेल समूहका केन्द्रीय महेश आचार्यले बैठकमा जथाभावी बोलेको एक नेताले बताए । आचार्यले असोज १२ गतेको ज्ञापन पत्रका मागको सुनुवाई हुनुपर्ने, मागहरू कार्यान्वयन नहुँदासम्म केन्द्रीय कार्यसमिति बोलाउन नपाइनेभन्दै भाँडभैलो मच्चाएको स्रोतले जनाएको छ ।

सभापति देउवाले विभागहरू गठन भइसकेकाले त्यस बाहेकका विषयमा छलफल गरेर सहमतिमा जान सकिने बताएका छन् । देउवाले गठन भएका विभागहरू विघटन नगर्ने बताएको एक नेताले उल्लेख गरे ।

पौडेल–कोइराला समूहले देउवा पक्षले गरेका निर्णय फिर्ता गर्नुपर्ने मागसहित असोज १२ मा २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेर ज्ञापन पत्र बुझाएका थिए ।

पौडेल–कोइराला समूहले बैठकमा असोज १२ गतेको मागलाई लिएर बबण्डर मच्चाएपछि उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले जवाफ दिएका थिए ।

निधि र खड्काको जवाफ चित्तबुझ्दो नरहेको भन्दै पौडेल–कोइराला समूहले असन्तुष्टि जनाएको छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएकालाई क्रियाशील सदस्यता वितरणको मापदण्ड, भ्रातृ संस्थाको पदावधिलगायतमा पौडेल–कोइराला समूहले असन्तुष्टि जनाउँदै आएको छ ।

नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र उठेका माग र कुराहरूलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेसको पदाधिकारी बैठक मंगलबार १ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

Published : Monday, 2020 November 2, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया