बालुवाटारबाट खुमलटारले थेग्ने नसक्ने ‘अस्त्र’ प्रहार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादले झन् उग्ररुप लिएको छ ।

विवाद समाधान गर्नेभन्दा पनि पूर्वएमाले र पूर्वमाओवादी नेताहरू एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने कार्य गरिरहेका छन् ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली निकटका सचिवालय सदस्य ईश्वर पोखरेलले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टीमा समस्या आएको आरोप लगाएका छन् ।

उनले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार–भैंसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण समस्या भएको बताए । पोखरेलले सबै दोषभरि दाहाललाई दिएका छन् ।

दाहालले दोहोरो प्रवृत्ति देखाएका कारण नेकपामा समस्यामा परेको उपप्रधानमन्त्री समेत रहेका पोखरेलले बताए ।

‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरू हुन्छ अनि काउन्टर रणनीति के बन्छभन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैंसेपाटीमा गएर छुट्टै सर–सल्लाह गरेर योजना बनाउनुहुन्छ’, पोखरेलले भने, ‘त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो ।’

उनले भने, ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्‍यो, त्यो आधारमा टेक्नुपर्‍यो, त्यहाँ टेकेर अगाडि बढ्नु पर्‍यो ।’

‘यदि सकारात्मक निष्कर्षमा पुर्‍याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैन’, पोखेलले भनेका छन् ।

प्रधानमन्त्री ओलीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झन् बल्झिने उनले चेतावनी दिएका छन् ।

पोखरेलले दाहाललाई गुटको भेला गरेर अनावश्यक दवास सिर्जना नगर्न पनि चेतावनी दिएका छन् । ‘अहिले पनि पुष्पकमल दाहालले अरु साथीहरूसित सल्लाह गर्दै समीकरण बनाउने र त्यो समीकरणको बलमा यता दवाव सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन’, उनले भने ।

उता, दोस्रो वरीयताका अध्यक्ष दाहाल निकट मानिने प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पार्टी अलग–अलग गर्न प्रस्ताव गरेको बताएका छन् ।

उनले ओलीका कारण समस्या भएको प्रतिक्रियाहरू दिएका छन् । ओलीले पार्टी अलग–अलग चलाउने भनेर राखेको प्रस्ताव दाहालले खुमलटार बैठकमा जानकारी गराएका श्रेष्ठले बताए ।

Published : Monday, 2020 November 2, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया