यी विषयमा हुनेछ कांग्रेसको पदाधिकारी बैठकमा छलफल

काठमाडौं । १४औँ महाधिवेशन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका माग लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक बस्ने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा १४औँ महाधिवेशनको विषयमा छलफल केन्द्रित हुनेछ । नेताहरूको अनुसार कोरोना महामारीका कारण फागुनमा १४औँ महाधिवेशन हुने सम्भाना निकै न्युन भएपछि अर्को मिति सार्ने विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार कांग्रेसको महाधिवेशन ६ महिनापछि सार्ने तयारी भएको छ । तर, पौडेल समूहले कोरोना महामारीका बेलानै फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

बैठकमा पौडेल समूहले बुझाएको ज्ञापन पत्रका विषयमा पनि छलफल हुनेछ । सो विषयमा यसअघि नै महामन्त्री पूर्णबहादुर खड्काले पौडेल समूहलाई जवाफ दिइसकेका छन् ।

तैपनि बैठकमा सो कुरा उठ्ने जनाइएको छ । वरिष्ठ नेता पौडेललाई पनि बैठकमा बोलाइएको छ ।

यसअघि आइतबार पौडेल समूहले जुम मिटिङ गरेर ज्ञापन पत्रका मागलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवालाई दवाव सिर्जना गर्ने सहमति गरेका थिए ।

Published : Monday, 2020 November 2, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया