कांग्रेस आफै हारेकाे हाे, एमाले–माओवादीको नामाेनिशान नरहने गरी पत्तासाफ हामीले गरेका हाैंः खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसले एमाले र माओवादीको नामोनिशान नरहने गरी पत्तासाफ गरिदिएको दाबी गरेका छन् ।

गृहजिल्ला ओखलढुंगामा आइतबार कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै खतिवडाले १२ वर्षसम्म १५ हजार मान्छेर मारेका प्रचण्ड कांग्रेसको शरणमा आएको बताए । उनले प्रचण्डकी छोरीलाई कांग्रेसले काँधमा बोकेर जिताइदिएको बताए ।

‘माओवादीका प्रचण्डले १२ वर्षसम्म १५ हजार मान्छे मार्नुभयो । अन्तिममा कांग्रेसको शरणमा आउनु भयो । कांग्रेसले काँधमा बोकेर छोरी जिताइदियौँ’, खतिवडाले भनेका छन् ।

‘त्यति मात्रै होइन अन्तिममा पार्टी नै बलिय बनाउने अवस्था कांग्रेसले नै गरिदिएको छ । माओवादी र एमालेको नामोनिशान छैन । पत्तासाफ भएको छ’, कांग्रेसका युवा नेता खतिवडाले भने ।
सत्ताका लागि बाँडीचुडी खान नेकपाका नेताहरू मिलेको उनले बताए । ‘नेकपा मिलेको छैन । भित्री रुपमा नेकपा मिलेकै छैन’, उनले भने, ‘सत्ताका लागि मात्रै मिलेका छन् ।’

खतिवडाले कांग्रेसको बिकल्प कांग्रेस मात्रै रहेको बताए । निर्वाचनमा कांग्रेसलाई एमाले र माओवादीले पराजित नगरेको बताएका खतिवडाले भने, ‘कांग्रेसलाई कसैले हराउन सक्दैन । व्यवस्थापन नमिल्दा कांग्रेस आफ हारेको हो । कांग्रेसलाई हराउने हिम्मत एमाले र माओवादीसँग छैन ।’

‘कांग्रेसलाई कसैलाई हराउन सक्दैन’, उनले भने, ‘हामी हारेको आफ्नै कारणले हो ।’

खतिवडाले अन्तिममा कम्युनिस्टहरू आउने भनेको नेपाली कांग्रेस पार्टी रहेको बताएका छन् ।

‘०६४ सालमा झापाबाट खड्गप्रसाद ओलीले हारेका हुन् । विश्वदीप लिङ्देनले हराउनुभएको थियो । लिङ्देनले गलत पार्टीमा रहेछु भनेर अहिले कांग्रेसको सदस्यता लिनुभएको छ’, खतिवडाले भनेका छन् ।

‘ओलखढुंगाबाट जितेका कम्युनिस्टहरू पनि कांग्रेसमा आउनेछन् । विनोद चौधरी पनि कांग्रेसमा आएका छन्’, उनले भने, ‘बिजुलीका नाममा भ्रष्टाचार गर्नेभन्दा ओखलढुंगाका नेकपाका जनप्रतिनिधिहरू अरु केही काम गरेका छैनन् ।’

‘ओखलढुंगाका जनप्रतिनिधिहरू नयाँ सिडिओ र डिएसपी आउँदा अगाडि पछाडि लगाएर घर लगेर जान्छन्’, खतिवडाले भने, ‘नयाँ सिडिओ आउनेवित्तिकै हाम्रा जनप्रतिनिधि एकवारको बाटो अनुगमन गर्न जान्छन् । कांग्रेसले ल्याएको योजना अहिलेसम्म कम्युनिस्टहरूले पूरा गर्न सकेका छैनन् । आफ्नै सरकार छ । तैपनि काम हुँदैन । विकास हुँदैन ।’

‘ओखलढुंगामा बलबहादुर राई र रामहरि खतिवडाले मात्रै काम गरेका छन् । विकास ल्याएका छन्’, उनले भने, ‘त्यसपछिका कम्युनिस्टबाट जितेका जनप्रतिनिधिले केही काम गर्न सकेनन् । हाम्रा जितेका सांसदले नै पुल बनाउन कांग्रेस चाहिने रहेछ भन्नुभयो । नेकपाका ती सांसदले प्रतिपक्ष चाहियो भन्नुभयो । त्यसैले ओखलढुंगाको विकास गर्न कांग्रेस नै चाहिन्छ ।’

नेपाली कांग्रेसका पूर्वसांसद खतिवडाले नेकपा समावेशी पार्टी नभएको आरोप लगाए । ‘९ जनाको केन्द्रीय सचिवालयमा एक जना पनि महिला छैनन्’, उनले भने, ‘सबै बाहुन छन् । नेकपा भनेको बाहुनहरूको पार्टी हो । जम्मा दुई जना मात्रै जनजाति छन्’, खतिवडाले भने, ‘भोट माग्दा समावेशी पार्टी भनेर माग्ने । सचिवालयमा मधेसी, दलित, जनजाति र महिलालाई नराख्ने । यस्ता पनि कम्युनिस्ट पार्टी छन् ।’

Published : Sunday, 2020 November 1, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया