ओली सरकारविरुद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौंमा प्रदर्शन गरेको छ ।

आइतबार भृकुटीमण्डपमा जम्मा भएर नेविसंघका नेता तथा कार्यकर्ताहरूले ओलीको कम्युनिस्ट सरकारलाई ‘अधिनायकवादी’भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले नेविसंघका नेता कार्यकर्तालाई झुठ्ठा मुद्धा लगाएर दुःख दिएको भन्दै रिहाइको माग गरेका छन् ।

नेविसंघका नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।

नेविसंघले षडयन्त्रपूर्वक नेताहरूमाथि धरपकड गरेको, यातना दिने र झुठा मुद्दा लगाउने काम कम्युनिस्ट सरकारले गरेको आरोप लगाएको छ ।

उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको भएपनि नेविसंघको प्रदर्शनमा सहभागीले भौतिक दूरी कायम नगरेर प्रदर्शन गरेका थिए ।

नेविसंघका नेता कार्यकर्ताले कोरोनापीडित जनताको उपचारका लागि सरकार उदाशीन देखिएको आरोप लगाएका छन् ।

प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले ‘जनस्वास्थ्यमा खेलबाड गर्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ जस्ता नाराबाजी गरेका थिए ।

Published : Sunday, 2020 November 1, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया