ओली–दाहालका कार्यकर्तालाई कारबाही गर्न कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले रुकुम (पश्चिम)का क्रियाशील सदस्य बलवीर परियारलाई कुटपिट गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको युवा संघका नेता कार्यकर्ताहरूलाई कारबाहीको माग गरेको छ ।

कात्तिक १५ गते शनिबार बिहान ५ बजे काउण्टरमा काम गर्दै गरेको अवस्थामा नेकपा निकट युवा संघका सदस्य रवि बुढाको नेतृत्वमा आएको करीब १० जनाको समूहले परियारलाई खुकुरी, रड जस्ता धारिला हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको कांग्रेसले जनाएको छ । सो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गरेका छ ।

‘दशैँको बेलामा यात्रुहरूको आवत जावतमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका बलवीर परियारको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना गर्ने यस घटनामा संलग्न युवा संघका आपराधिक मनोवृत्तिका उच्छृङ्खल व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’, कांग्रेसले जनाएको छ ।

नेपाली आठबिसकोट नगरपालिका–८ घर भई हाल वडा नं. ९ राडी बजारमा रहेको सिस्ने हिमाल बस तथा मिनीबस यातायात समितिको काउन्टरमा काम गर्दै आएका थिए ।

सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालका कार्यकर्ताहरूले रुकुम पश्चिममा आतंक मच्चाएका कांग्रेसको आरोप छ ।

कांग्रेसले ओली–दाहाललाई आफ्ना कार्यकर्ता सम्हाल्न र दोषीलाई कारबाही गर्न चेतावनी दिएको छ ।

Published : Sunday, 2020 November 1, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया