नेकपाका नेताको नाममा करोडौँ खर्च गर्ने यो सरकार निकम्मा भयो, हामी पनि सचेत बनौँः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाश शरण महतले कोरोना रोकथाममा कम्युनिस्ट सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न आम नागरिकहरूको तहबाट पनि जिम्मेवारी लिन जरुरी भएको जनाएका छन् ।

संयोजक डा.महतले बिहीबार विज्ञप्ति जारी गरेर मास्क लगाउने, भौतिक दुरी कायम राख्ने र सावुन पानीले नियमित हात धुने उपायहरूलाई गम्भीरताका साथ लिन सबैसँग आग्रह गरेका हुन् ।

‘कोभिड—१९ संक्रमणको विशिष्ट परिस्थितिमा बडा दशैँको चाडलाई आ–आफ्ना घरमा मात्र मनाएर संक्रमणको जोखिमलाई कम गर्न समेत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘देशमा कोभिड–१९ बाट संक्रमितको संख्या दिनानुदिन बढ्दो छ’, सह–महामन्त्री डा.महतले भनेका छन्, ‘पछिल्लो आकंडा अनुसार संक्रमण दर २८.५ प्रतिशत पुगेको छ भने देशभरि संक्रमित भएका मध्ये ५२ प्रतिशत काठमाडौं उपत्यकामा भेटिएको छ ।’

नेपालको संक्रमण दर अन्य देशहरूको तुलनामा अत्यन्त उच्च देखिएको डा.महतले बताएका छन् ।
यो आँकडाले नेपालमा स्थिति भयावह हुँदै गएको संकेत गरेको उनले बताए ।

‘सरकार देशमा कोभिड—१९ संक्रमण रोक्न सफल भएको दावी गर्दैछ’, उनले भने, ‘सरकारको यो भन्दा विरोधाभाष र गैर जिम्मेवारीपूर्ण रवैयाको अर्को नमूना हुन सक्दैन ।’

‘संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत तथा नेपाली कांग्रेस पार्टी र नागरिक समाजबाट भएको निरन्तर विरोधका वावजुद सरकार कोभिड—१९ संक्रमितको निःशुल्क उपचार गराउनु पर्ने जिम्मेवारीबाट पन्छिदैछ’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘त्यसमाथि सरकारी अस्पतालहरूले समेत उपचार पहिले नै निश्चित धरौटी रकम दाखिला गर्नुपर्ने सूचना जारी गर्दैछन्’, उनले भने, ‘यसले गर्दा खर्च जुटाउन नसकेर कतिपय बिरामीहरू अस्पतालमा उपचार गराउँदा गराउँदै फिर्ता हुँदैछन् भने कतिपय संक्रमणले गम्भीर हुँदा समेत घरमै बस्नु पर्ने वाध्यता भएको छ ।’

‘सत्ताधारी दलका नेता र उनका नाममा दर्ता भएका गैर सरकारी संघ–संस्थाहरूलाई अरबौं रकम दिन सक्ने, विभिन्न शीर्षकमा फजुल खर्च गर्न समस्या नहुने, कोभिड—१९ संक्रमण रोक्ने नाममा ठूलो मात्रामा दुरुपयोग र भ्रष्टाचार गर्न सरकारसँग पर्याप्त बजेट हुने तर आम नागरिकहरूले परीक्षण र उपचार खर्च नभएर मृत्युवरण गर्नुपर्ने र बेरोजगारीका कारण चाडवाडको बेलामा पनि भोकभोकै बस्नु पर्ने स्थितिमा बजेटको अभाव देखाउँदै सरकार केही गर्न नसक्ने भनेर जिम्मेवारीबाट पन्छिदैछ’, डा.महतले भनेका छन् ।

‘सरकार जिम्मेवारी वहन गर्नुबाट कर्तव्यच्यूत भएको यो चरम नमूना हो’, उनले भने, ‘सरकारको यस्तो जनविरोधी क्रियाकलापको घोर निन्दा गर्दै कोरोना परिक्षण र उपचारमा सरकारले तत्काल पूर्ण जिम्मेवारी लिन नेपाली कांग्रेस माग गर्दछ ।’

‘कोभिड—१९ संक्रमणले सिर्जना गरेको परिस्थितिका कारण दैनिकी चलाउन कठिनाई भोगिरहेका आम नागरिकहरूका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ’, सह–महामन्त्री डा.महतले विज्ञप्तिमा भनेका छन् ।

Published : Thursday, 2020 October 22, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया