कोरोनाका बेला जनताको उपचार नगर्ने कम्युनिस्ट सरकार चाहिएनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई अत्यन्तै गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरेर कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको रहेको जनाएका छन् ।

‘संक्रामक रोग उपचारको कानूनी ब्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’

‘कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरू तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनसम्म लहडको नीतिले सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह खडा गरिसकेको छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘उपचारको दायित्वबाट पन्छिए पश्चात् त देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको छ’, कांग्रेसले भनेको छ ।

‘सांसद विकास कोष, दशैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य थियो’, विज्ञप्तिमा भनिएको छ, ‘कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिंदै नेपाली कांग्रेस कोरोना परिक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन बिशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ ।’

Published : Monday, 2020 October 19, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया