ओली–दाहालबीच कर्णालीको कुरा मिलेन

काठमाडौं । कर्णाली प्रदेशको विवाद समाधानका विषयमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच सम्वाद भएको छ ।

बालुवाटारमा आइतबार भएको वार्तामा कर्णाली प्रदेशको समस्या समाधानका विषयमा परामर्श भएको स्रोतले जनाएको छ । कर्णालीका विषयमा छलफल भएपनि ओली–दाहालबीच सहमति हुन नसकेको जनाइएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काम गर्न नसकेको भन्दै यमलाल कँडेलसहितका असन्तुष्ट प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि कर्णाली प्रदेशको विवाद बाहिरिएको थियो ।

मुख्यमन्त्री शाहीलाई हटाउने पक्षमा कँडेलको समूह रहेको छ । कँडेलको समूह पूर्वएमालेको हो । मुख्यमन्त्री शाही पूर्वमाओवादी हुन् ।

कर्णाली प्रदेशमा पूर्वमाओवादी अल्पमतमा छ । पूर्वएमाले बहुमतमा छ । भागबण्डा गर्दा शाहीलाई मुख्यमन्त्री पद परेको थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा काम गर्न नसकेको भन्दै कँडेलको समूह आक्रामक रुपमा आएको छ । शाहीलाई कुनै पनि हालतमा बचाउने पक्षमा दाहाल देखिएका छन् ।

Published : Sunday, 2020 October 18, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया