ओली कर्णालीको विवाद समाधान गर्न आतुर, खुमलटार अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओली कर्णाली प्रदेशको समस्या समाधानका लागि सक्रिय बनेका छन् ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका दुबै पक्षका नेताहरूलाई शनिबार बालुवाटारमा राखेर परामर्श गरेका छन् ।

संयुक्त छलफलमा ओलीले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बोलाएका थिए । तर, दाहाल आएनन् ।

प्रधानमन्त्री ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, अविश्वासको प्रस्तावको अगुवाइ गर्ने नेता यामलाल कँडेल, अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सांसद गुलावजंग शाह र चन्द्रबहादुर शाहीसँग संयुक्त रुपमा परामर्श गरेका थिए ।

ओलीले दोस्रो वरीयताका अध्यक्ष दाहालसँग परामर्श गरेर कर्णालीको विवाद समाधान गर्ने जनाएका छन् । दुई अध्यक्षबीच हुने सहमतिलाई मान्न पनि ओलीले कर्णाली प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् ।

शनिबारको संयुक्त बैठकमा ओलीले बोलाउँदा दाहाल नआएको विषयमा भने बालुवाटार असन्तुष्ट बनेको छ । सबै पक्षका नेताहरूलाई सामूहिक रुपमा राखेर विवाद समाधान गर्ने बालुवाटारको प्रयासमा खुमलटारबाट भएको असहयोगले नेकपाभित्र खटपट छ भन्ने संकेत दिएको छ ।

नेकपामा समायोजनाका धेरै कुराहरू बाँकी छन् । कर्णाली प्रदेशको विवादले नेकपालाई नयाँ मोडमा पु¥याइदिएको छ । तैपनि ओलीले कर्णाली प्रदेशका नेताहरूलाई विवाद समाधान गर्ने आश्वासन दिएका छन् ।

ओलीले विवाद समाधान नहुँदासम्म काठमाडौं नछाड्न पनि कर्णाली प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् ।

Published : Sunday, 2020 October 18, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया