दाहालद्वारा कँडेल समूहसँग वार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने समूहसँग वार्ता गरेका छन् ।

शुक्रबार ललितपुरको खुमलटारस्थित निवासमा दाहालले यमलाल कँडेल, मायाप्रसाद शर्मा र गुलाबजंग शाहसँग कुराकानी गरेका हुन् । भेटमा अविश्वासको प्रस्तावका विषयमा कुराकानी भए पनि के सहमति भएको हो केही भनिएको छैन ।

यसअघि दाहालले बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने कँडेल समूहलाई खुमलटार बोलाएका थिए । तर, कँडेल समूह खुमलटार नगएर पार्टी केन्द्रीय कार्यालय धुम्बराही बसेको थियो ।

दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार मुख्यमन्त्री शाहीसँग परामर्श गरेका थिए ।

कँडेलसहितका कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्र शाहीले काम गर्न नसकेको भनेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

Published : Friday, 2020 October 16, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया