कर्णालीबारे ओली–दाहालले उठाए नयाँ कदम, पाँच नेतालाई बोलावट

काठमाडौं । कर्णाली प्रदेशको विवाद मिलाउन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले महेन्द्रबहादुर शाही र यमलाल कँडेललाई काठमाडौं बोलाएका छन् ।

मुख्यमन्त्री शाही, नेकपाका नेता कँडेल र प्रमुख सचेतक गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलाई मंगलबार दिउँसो पत्र पठाउँदै ओली र दाहालले उत्पन्न पछिल्लो विवादबारे छलफल गर्न उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन निर्देशन दिइएको हो ।

यमलाल कँडेलले अहिलेको अवस्थालाई यथास्थितिमा राखेर छलफलका लागि असोज २९ गतेभित्र काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आउनु भनिएको जानकारी दिए ।

कँडेलसँगै संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही, प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ ।

आइतबार कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद भएको थियो ।

Published : Tuesday, 2020 October 13, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया