यस्ताे छ ओलीले दाहाललाई दिन खोजेको सन्देश, पूर्वमाओवादीले बल्ल बुझे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी र सरकारमा ‘म नै सर्वेसर्वा हुँ’ भन्ने सन्देश दिएका छन् ।

मन्त्रिपरिषदको बिहीबारको निर्णयले त्यो सन्देश दिन खोजेको नेकपाका एक नेताले बताएका छन् ।

केही दिन अगाडि सम्पन्न केन्द्रीय सचिवालय र स्थायी समितिको बैठकले सरकार र पार्टी सञ्चालनका विषयमा केही मापदण्डहरू बनाएको थियो ।

ओलीले सरकार चलाउने, सरकारले गर्ने महत्वपूर्ण निर्णयहरू गर्ने बेला पार्टीसँग परामर्श गर्ने भन्ने थियो । तर, ओलीले पार्टीमा कुनै सल्लाह नै नगरी आफ्नै आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरिदिएका छन् । ओलीको यो निर्णयले गम्भीर प्रश्न उठाइदिएको छ ।

ओलीले सरकार र पार्टीमा जे पनि निर्णय गर्न सक्छन् र उनी नै सर्वेसर्वा हुन् भन्ने सन्देश दिन खोजेको नेकपाका ती नेताले बताए ।

‘नेकपामा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष भनेर के गर्ने ? उहाँलाई प्रधानमन्त्री ओलीले कुनै कुरामा मलतब राख्नु हुन्न’, नाम उल्लेख नगर्ने सर्तमा माओवादी पृष्ठभूमि भएका स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री ओलीजी एकलौटी रुपमा हिँड्न चाहनुभएको छ ।’

ओलीले राजदूतका विषयमा गरेको निर्णयले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट बनेका छन् । दाहालले पार्टीमा सल्लाहनै नगरी निर्णयहरू गर्न थालेको भन्दै आफू निकटका नेताहरूसँग असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

अबका दिनमा ओलीले पार्टीभित्र पनि दाहालसँग परामर्श नै नगरेर कुनै निर्णय गरे भने आश्चर्य मान्नुपर्ने छैन ।

Published : Friday, 2020 October 2, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया