किन पल्टियो सुजाता कोइरालाको अभिव्यक्ति ?

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल समूहविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर विभिन्न चर्चा र विश्लेषणहरू शुरु भएका छन् ।

एउटा टेलिभिजनसँगको आन्तर्वार्तामा नेतृ कोइरालाले नेता पौडेलले सीमित नेताहरूलाई काखी च्यापेर गुटको राजनीति गरेको आरोप लगाएकी थिइन् । उनले यस्ता गतिविधिले कांग्रेसलाई फाइदा नहुने समेत बताएकी थिइन् ।

वरिष्ठ नेता पौडेलको गतिविधिबाट असन्तुष्ट नेतृ कोइरालाले सभापति शेरबहादुर देउवाको क्याम्पमा प्रवेश गर्न लागेको भनेर चर्चा समेत शुरु भएको छ ।

स्रोतका अनुसार नेतृ कोइरालाले कांग्रेसको परराष्ट्र विभागको संयोजक पाउन लागेको चर्चा पनि छ । त्यति मात्रै होइन उनले नेता गोपालमान श्रेष्ठमार्फत सभापति देउवासँग निकटको सम्बन्ध बनाएको चर्चा हुन थालेको छ । हुन त डा.नारायण खड्काले पनि याे विभाग ताेकेका छन् ।

नेतृ कोइरालाको अभिव्यक्तिले पौडेल समूहभित्र खैलाबैला मच्चिएको छ । देउवा समूहलाई भने राहत मिलेको छ ।

नेतृ कोइरालाको भावी रणनीति के हुन्छ भन्नेबारे केही नभनिए पनि देउवासँग निकट भएको सन्देश अन्तर्वार्ताले दिएको छ ।

Published : Thursday, 2020 October 1, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया