सरकारविरुद्ध आन्दोलन गर्ने बेला पौडेल–कोइराला समूह पार्टीभित्र बबाल गर्दै

काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, अराजकता, बलात्कार, बेथितका चाङ् लागेका छन् । सरकारसँग जनताले अपेक्ष गर्नै छडेका छन् । प्रधानमन्त्री केपी ओलीसँग जनताको मन भाँच्चिएको छ । सरकारका मन्त्रीहरू निकम्मा भएका छन् ।

नेकपाका सांसद, नेताहरू जनताको सानो अपेक्षा पनि पूरा गर्ने पक्षमा छैनन् । देश भयाबह अवस्थामा पुगेको छ । कोरोना महामारीले जनता घरभित्र लुकेर बस्न बाध्य छन् । समुदायमा कोरोना फैलिएको छ । काठमाडौं उपत्यका भयाबह अवस्थामा जाँदै छ । जिल्लाहरूमा पनि त्यस्तै अवस्था भइरहेको छ ।

यस्तो अवस्थामा जनताले नेपाली कांग्रेसको भूमिका खोजेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई दवाव दिएर सहि ठाउँमा ल्याओस् भन्ने पक्षमा जनता छन् । तर, कांग्रेसका नेताहरूलाई आफैभित्र लड्न भ्याइनभ्याइ भएको छ । महामन्त्री डा.शशांक कोइराला, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताहरू पार्टीभित्र सहमति खोज्नेभन्दा पनि विवाद खडा गरेर सरकारलाई सजिलो बनाइदिएका छन् ।

कोरोना महामारीका बेला सरकारलाई कांग्रेसले दवाव दिएर जनताको जीवन रक्षा गर्नुपर्ने थियो । तर, कांग्रेसले जिम्मेवारीअनुसार काम गर्न सकेको छैन । पौडेल–कोइराला समूह कोरोना महामारीका बेला आफ्नो रोटी सेकाउन लागेको छ । जनता मरे पनि पौडेल–कोइराला समूहलाई केही मतलव छैन । कोइराला–पौडेल समूहले सभापति शेरबहादुर देउवालाई दवाव दिएर ओली सरकारविरुद्ध आन्दोलनको आँधिबेहरी सिर्जना गर्नुपर्ने थियो । तर, सरकारलाई दवाव दिनेभन्दा पनि देउवाको खेदो खन्नमै कोइराला–पौडेल समूह सक्रिय भएका छन् ।

कोरोना महामारीका बेला देउवालाई दवाव दिएर कांग्रेसको नेतृत्व हत्याउने योजनामा पौडेल–कोइराला समूह छन् । देउवा पनि उनीहरूको योजनासँग जानकार छन् । यस्तो अवस्थामा महाधिवेशन हुन सक्दैन । त्यही कुरा बुझेर कृष्णप्रसाद सिटौलाले पौडेल–कोइराला समूहलाई साथ दिएनन् । उनले देउवालाई नै दवाव दिएर अगाडि बढ्ने योजना बनाएका छन् ।

सभापति देउवाका पनि धेरै कमजोरीहरू छन् । सरकारविरुद्ध आन्दोलनको घोषणा गर्नुपर्ने थियो । तर, देउवाले ओलीलाई साथ दिइरहेका छन् । संसदको बैठक बोलाउन दवाव दिन कांग्रेसले सकेको छैन । सरकारविरुद्ध कोरोना महामारीबाट जनताको जीवन बचाउने, भ्रष्टाचार, महँगविरुद्ध आवाज उठाउने ठाउँ संसद हुने थियो । त्यसलाई पनि कांग्रेसले प्रयोग गर्न सकेको छैन ।

नेपाली कांग्रेसले अब छिटोभन्दा छिटो संसद बोलाउन लगाएर सरकारविरुद्ध मोर्चा बलियो बनाउनुपर्छ । कोरोना महामारीबाट सर्तक रहेर स्वास्थ्य मापदण्डहरू अपनाएर सडकमा उत्रिनुपर्छ । सभापति देउवाले अबको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारविरुद्धको एजेण्डा अगाडि बढाउनुपर्छ । देउवाले पौडेल–कोइराला समूहको व्यक्तिगत स्वार्थको रणनीतिलाई पराजित गर्न सरकारविरुद्धका कार्यक्रम अगाडि बढाउनुपर्छ ।

पौडेल–कोइराला समूह अहिले जसरी आन्दोलनमा उत्रिएका छन् त्यसले कांग्रेस पार्टीलाई नै नोक्सान भएको छ । सरकारविरुद्ध मिलेर आन्दोलन गर्ने बेला पौडेल–कोइराला समूह आफ्नै सभापति देउवाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । सधैभरि ६०–४० को भाग लिएको पौडेल–कोइराला समूह आफूलाई असर पर्ने भएपछि देउवालाई गाली गरेर बस्ने गरेका छन् । नेविसंघ, तरुण दल, मन्त्री बनाउने बेला ६०–४० मा भाग लिने पौडेल–कोइराला समूहले अहिलेसम्म नेविसंघ र तरुण दलका पदाधिकारी र सदस्यहरूको नाम दिएका छैनन् ।

फागुनमा १४औँ महाधिवेशन नहुने पक्का भएको छ । सभापति देउवाले ६०–४० अनुसार सबै विभागहरू मनोनय गरेर अगाडि बढ्नुपर्छ । आफ्नो भागमा परेका ६० प्रतिशत मनोनीत गर्ने, ४० प्रतिशत पौडेल–कोइराला समूहलाई छाडेर अगाडि बढ्नुपर्छ । कांग्रेस नेतृ सुजाता कोइरालाले आफूलाई धोका दिएर देउवाविरुद्धको ज्ञापन पत्रमा हस्ताक्षर गराएको बताउँदै गर्दा पौडेल–कोइराला समूह विवादमा छ भन्ने कुरा स्पष्ट भइसकेको छ ।

Published : Thursday, 2020 October 1, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया