मोदीका दूतहरू काठमाडौं आएर फर्किए, त्यसपछि हलचल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतहरूले भेटेको रहस्य बाहिर आएको छ । ओलीसँग केही दिन अगाडि मात्रै गुपचुप रुपमा नयाँदिल्लीबाट मोदीका दूतहरू काठमाडौं आएर भेटेको उच्च स्रोतले जनाएको छ । कुन लेबलका व्यक्तिहरू आएका थिए ? स्राेतले केही भन्न मानेन ।

भारतसँग बिग्रिएको सम्बन्ध सुधार गर्न ओलीले भित्रभित्रै सूत्रहरू परिचालन गरेका थिए । ओली र मोदीका दूतहरूसँगको भेटपछि नेपालको नयाँ नक्सा र नयाँ क्षेत्रफल रहेको किताब वितरणमा ओलीले रोक लगाएका थिए ।

चीनसँग निकट रहेको भनेर मोदी सरकार ओलीसँग रिसाएको थियो । मोदीका दूतहरूले ओलीलाई भेटेपछि मोदी–ओलीको लाइन क्लियर भएको चर्चा छ । मोदीका दूतहरूलाई भेटेपछि ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको चर्चा छ । भारतसँग टलस लिएका ओलीले फेरि मोदीसँग सम्बन्ध सुधार गरेका छन् ।

मोदीका दूतहरूले ओलीलाई बालुवाटारभित्र भेटेको थाहा पाएपछि दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन् । ओलीको भारतसँग सम्बन्ध बिग्रिएपछि फाइदा उठाउन खोजेका दाहाललाई ओली–मोदीको नयाँ सम्बन्धले झट्का दिएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी भएपछि ओलीको भारतसँग सम्बन्ध विग्रिएको थियो ।

फोनमा सम्पर्क हुँदा समेत मोदीले ओलीलाई धेरै महत्व दिएका थिएनन् । मोदी रिसाएपछि ओलीलाई तनाब बढेको थियो । लामो समयपछि ओलीले मोदीसँग राम्रो सम्बन्ध बनाउन सफल भएका छन् । मोदीका दूतले ओलीलाई भेट्नुभन्दा अगाडि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले विभिन्न दलका नेताहरूसँग गोप्य भेटवार्ता पनि गरेका थिए ।

नेपालको राजनीतिमा चीनको खुला प्रवेश भएपछि भारत ब्याक भएको थियो । भारतलाई पुनः ओलीले फ्रन्टमा ल्याउन खोजेका छन् । चीनले नेपाललाई भनेअनुसारको सहयोग गरिरहेको छैन ।

चीनको असहयोग रहेपछि ओली पछिल्लो समय रिसाएका थिए । ओलीले चीनसँग भन्दा पनि भारतसँगै सम्बन्ध बनाउँदा फाइदा हुने देखेपछि मोदीसँग नजिक हुने प्रयास गरेका हुन् । ओली र मोदीका दूतहरूका बीच भएको गोप्य कुराकानीका विषयमा बाहिर केही भनिएको छैन ।

Published : Thursday, 2020 October 1, 8:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया