विमलेन्द्र निधिले देखाए दोहोरो चरित्र, कांग्रेसका कार्यकर्ताहरू दिक्क

काठमाडौं । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने क्रममा प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनद्वारा अतिक्रमित भूमिका विषयमा मुख खोलेका छन् ।

शहीद स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘शहीदको बलिदान र वर्तमान राजनीतिक परिवेश’ विषयक जुम बैठकलाई सम्बोधन गर्दै निधिले चीनद्वारा हुम्लामा अतिक्रमित नेपाली भूमिका विषयमा नेपाल सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा अध्ययन नै नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति रहेको बताए ।

उनले हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित भूमि नेपालकै हो भनेर गरेको दाबीको बेवास्ता गर्दै सरकारकोतर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको बताए ।
चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि नेपाली राजदूतले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको निर्णय हुनेवित्तिकै उपसभापति निधिले आफू संयोजक रहेको नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जुम बैठक राखेर नयाँ नक्सामा भारतद्वारा अतिक्रमित भूमि राख्ने निर्णयलाई राष्ट्रवादको नाटकको संज्ञा दिएका थिए ।

जेठ ८ गते प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान नेकपा नेतृत्वको ओली सरकारले राष्ट्रवादका नाममा, राष्ट्रियताका नाममा अनेक नाटक विगतमा जसरी मञ्चन गर्दै आएको थियो अहिले पनि त्यही गरिरहेकोछ ।’

‘समस्याको तहसम्म पुगेर समाधानका प्रयास गर्नुभन्दा उत्तेजना फैलाउने गरी हलुका किसिमले अभिव्यक्ति दिने काम गरिरहेको छ’, निधिले भनेका छन् ।

‘सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको उत्तर दिनेक्रममा संसदीय मर्यादा र अभ्यास विपरित प्रधानमन्त्री ओलीले छिमेकी मित्र राष्ट्रको प्रतीकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको हुनाले यसबाट अनावश्यक विवाद र जटिलताहरु थपिएको छ भन्ने प्रतिष्ठानको दृष्टिकोण रहेको छ’, निधिले भनेका छन् ।

त्यति मात्रै होइन निधिले सगरमाथाको विषयमा पनि चीनलाई जोडेर विवाद खडा गर्न खोजेका छन् ।
‘अर्कोतर्फ सगरमाथाका विषयमा चिनिया पक्षबाट अनेक विवादास्पद टिप्पणी र दावीहरू समाचारहरूमा आएका छन्’, निधिले जेठ ८ गतेको विज्ञप्तिमा भनेका छन्, ‘यो गम्भीर विषयतर्फ सरकारको ध्यान गएको देखिदैन । चीनसंगको सीमाका कतिपय स्थानमा समस्याहरू विगत देखिनै छन् ।’

भारतले नेपाली सीमा मिचेको विषयमा खुलेर नबोल्ने निधिलाई चीनले सीमा मिचेको मात्रै झलझली देख्ने गरेका छन् । निधिले चीन मात्रै नभइ भारतले पनि सिमाना मिचेको विषयमा यसै गरी अभिव्यक्ति दिनुपर्छ ।

निधिको चीनप्रति आक्रामक र भारतप्रति नरम व्यवहारले कांग्रेसका देशभरिका कार्यकर्ताहरू दिक्क भएका छन् ।

Published : Tuesday, 2020 September 29, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया