गुण्डा नाइके ‘बाहुन’को निर्देशनमा काठमाडौंमा ‘दुर्गा’काे हर्कत बढ्यो

काठमाडौं । कुख्यात गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनका राइटह्याण्ड गुण्डा नाइके दुर्गा राईको काठमाडौं उपत्यकामा फेरि हर्कत बढ्न थालेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो समय गुण्डा र गुण्डा नाइकेहरूको अपराधमा कमी आएका बेला रमेश बाहुनका चेलाचाकरहरूले आफ्नो प्रभावलाई बढाउन थालेका छन् ।

गुण्डा नाइके ‘बाहुन’ले केन्द्रीय कारागार सुन्धाराबाटै ब्यापक असुलीको धन्दा चलाइरहेको उच्च स्रोतले जनाएको छ । ‘बाहुन’को असुली धन्दामा उनका दाइहिने हात मानिने दुर्गा राईले साथ दिइरहेका छन् ।

‘बाहुन’ले दुर्गा राईलाई प्रयोग गरेर काठमाडौंको कोटेश्वर, बानेश्वर क्षेत्रलाई आधार बनाएर असुली गर्न थालेको स्रोतका भनाइ छ ।

राईले भक्तपुरको कौशलटार, बालकोट नयाँठिमी भक्तपुर, पेप्सीकोल एरियामा जग्गा प्लटिङवालाहरूसंग व्यापक असुली गरिरहेको पीडितहरूले बताएका छन् ।

राई केही महिना अगाडि एकजना ब्यापारीलाई धम्क्याएर असुली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । सो घटनामा राई ५० हजार घरौटीमा छुटेका थिए ।

राईविरुद्ध प्रहरीमा १ दर्जनभन्दा भढी असुलीको उजुरी परेपछि अहिले प्रहरीले व्यापक खोजी गरिरहेको उच्च स्रोतले जनाएको छ ।

राई ललितपुरको गोलीकाण्डमा ५ वर्ष नख्खु जेलमा सजाय काटेर बाहिर निस्किएका हुन् । पाँच वर्षको जेल सजायपछि पनि नसुध्रिएका राईले बाहुनकै खटनपटन र निर्देशनमा अहिले पनि काठमाडौं उपत्यकामा असुलीको धन्दा चलाइरहेका छन् ।

कुख्यात गुण्डा नाइके ‘बाहुन’ले जेलाबाटै आफ्नो गृहजिल्ला रामेछापमा हाईड्रोपावर सञ्चालक एवम् निर्माण ब्यवसायीसंग आफ्ना केटाहरू परिचालन गरि करोडौं रकम असुली गरि सकेको प्रहरीसंग रेकर्ड छ ।

‘बाहुन’ लागुऔषध कारोबारमा सेन्टर जेलमा सजाय काटिरहेका छन् । नेपाली सेनाका भगौडा ‘बाहुन’ अपराध जगतका बादशाह मानिन्छ ।

‘बाहुन’लाई लागुपदार्थ सेवन गर्ने अवैध हतियार र गोला बारुदसम्बन्धी दुई घटनामा संलग्न भएकोमा १० वर्ष कैद र ७५ हजार रुपियाँको सजाय र जरिवाना पनि भएको थियो ।

Published : Tuesday, 2020 September 29, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया