ओली सरकारको भ्रष्टाचार धेरै भयो, आन्दोलनका लागि तयार रहनुस्ः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारको भ्रष्टाचारले अति भएको बताएका छन् ।

नेपाल महिला संघले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले भ्रष्टाचारलगायत अनियमितता गरेको बताए । उनले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

उनले कम्युनिस्ट सरकारले अप्रजातान्त्रिक काम गरिरहेको भन्दै आन्दोलन गर्ने दिन आउन सक्ने चेतावनी दिए ।

‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ’, देउवाले भने, ‘हाम्रा साथीभाइलाई धरपकड गरेको छ ।’

सभापति देउवाले ओली नेतृत्वको कम्युनिस्ट सरकारले कर्मचारीलाई पनि धम्क्याउने, तर्साउने काम गरिरहेको समेत बताएका छन् ।

‘सरकारले जथाभावी गरेको छ । कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ’, देउवाले भने, ‘हाम्रो पालामा त यस्तो गरेको थिएन ।’

ओली सरकारलाई तह लगाउनुपर्ने बेला आएको सभापति देउवाले बताएका छन् । ‘ओली सरकारलाई तह लगाउनुपर्छ’, उनले भने, ‘यो सरकारलाई घेर्नुपर्छ ।’

उनले कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको पनि बताएका छन् ।

‘मैले पहिल्यै कम्युनिष्टले जिते देशलाई खतरा हुन्छ भनेकै हो’, सभापति देउवाले भनेका छन्, ‘कोरोना नआएको भए देशैभरि जुलुस गर्ने योजना थियो मेरो। कोरोनाका बेला आन्दोलन गर्न भएन ।’

कम्युनिस्ट सरकारविरुद्ध सभापति देउवाले पहिलो पटक कडा अभिव्यक्ति दिएका छन् । उनले देशभरिका नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

Published : Monday, 2020 September 28, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया