सम्झनाका दोषीलाई कारबाही गर्न कांग्रेस सांसदद्वय रेग्मी र रसाइलीको माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद प्रकाश रसाइली ‘स्नेही’ बझाङ जिल्लाको खिकालाकी १२ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख प्रकट गरेका छन् ।

रसाइलीले शनिबार विज्ञप्ति जारी गरेर सम्झना कामीको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

‘एक अबेध बालिकामाथि निर्ममतापूर्वक भएको बलात्कार र हत्या अत्यन्त घृणित र निन्दनीय कार्य हो’, उनले भने, ‘यस्तो दानवरुपी कार्यको घोर भर्त्सना गर्दछु ।’

‘देशमा दिनै पिच्छे हत्या, बलात्कारका जघन्य अपराध भइरहेको हुँदा अपराधीको खोजी गरी कारबाही गर्न नसक्नु सरकार असक्षम भएको हामीलाई आभाष भएको छ’, कांग्रेसका सांसद रसाइलीले भनेका छन् ।

‘बलात्कार घटनामा विशेष गरि दलित समुदाय बढी शिकार हुने गर्दछ’, उनले भने, ‘ उपेक्षित वर्गमाथिको अपराधमा उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हालसम्म पनि रहिरहेको छ’, उनले भने, ‘कुनै पनि वर्गमाथिको अपराध, अपराध नै हो र सजायको भागीदारी हुनुपर्दछ ।’

बझाङ घटनाको दोषीलाई चाँडोभनद चाँडो खोजी गरि कडाभन्दा कडा कारबाही गर्न सांसद रसाइलीले माग गरेका छन् ।

उनले मृतक बालिका सम्झना कामीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले पनि विज्ञप्ति जारी गरेर १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेकी छिन् ।

Published : Saturday, 2020 September 26, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया