कांग्रेसका युवा नेताहरूद्वारा डा.केसीको अनशनप्रति ऐक्यवद्धता, निर्दयी बन्यो कम्युनिस्ट सरकार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले डा.गोविन्द केसीलाई भेटेर अनशनप्रति ऐक्यवद्धता जनाउँदै माग पूरा गर्नका लागि कम्युनिस्ट सरकारलाई दवाव दिएका छन् ।

शनिबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.केसीलाई भेटेर कांग्रेसका नेताहरूले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारमा मनोमानी ढंगले हिँडेको आरोप लगाएका हुन् । उनीहरूले विगतमा चिकित्सा क्षेत्रको सुधारका लागि भएका सहमतिलाई पनि सरकारले कार्यान्वयनमा उदासिनता देखाएको बताए ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले डा.केसीको जीवन बचाउन माग गरे । ‘डा.गोविन्द केसीका जायज मागहरू पूरा गर्नुपर्छ’, खतिवडाले भने, ‘उहाँको स्वास्थ्य निकै कमजोर हुँदै गएको छ । सरकारले ध्यान दिनुपर्छ ।’

सरकारमा बसेका जिम्मेवारी व्यक्तिहरूमा मानवीय समवेदना हराउँदै गएको समेत कांग्रेस नेता खतिवडाले बताए ।

पूर्वअर्थ राज्यमन्त्री एवम् कांग्रेसका युवा नेता उदयशम्शेर राणाले डा.केसीमाथि सरकारले ठूलो अन्याय गरेको बताए । ‘डा.केसीको माग भनेको जनता र सरकारकै लागि हुन्’, राणाले भने, ‘पटक–पटक सम्झौता गर्ने, सहमति कार्यान्वयन नगर्ने सरकारी रवैयाले समस्या निम्ताएको छ ।’

गण्डकी प्रदेशका नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले पनि डा.केसीको अनशनप्रति सरकार उदासिन रहेको बताए । उनले डा.केसीको स्वास्थ्यप्रति सरकार जिम्मेवार नभएको बताए ।

डा.केसी स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत छन् । उनका मागप्रति नेपाली कांग्रेसले समर्थन जनाउँदै आएको छ । तर, सरकारले माग पूरा भइरसकेको भन्दै गैह्रजिम्मेवारी अभिव्यक्ति दिने गरेको आरोप डा.केसीको छ ।

Published : Saturday, 2020 September 26, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया