बाढीपहिरो, डुबानमा परेकाहरूलाई उद्धार, राहत र क्षतिपूर्ति दिन कांग्रेसका खाँणको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले देशभरि परिरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको बाढीपहिरो, डुवान तथा प्राकृतिक विपदका घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रमुख सचेतक खाँणले बिहीबार विज्ञप्ति जारी गरेर गएको तीन दिनभित्र पहिरोमा परी स्याङ्जा र पाल्पा जिल्लामा दर्जनभन्दा बढी व्यक्तिहरूको मृत्यु, केही व्यक्तिहरू घाइते र बेपत्ता भएको जनाएका छन् ।

देशका अन्य स्थानमा बाढीपहिरो, डुवान तथा अन्य प्राकृतिक विपदको कारण मृत्यु, घाइते र बेपत्ताका साथै कैयौं घरपरिवारहरू प्रभावित भएको भन्दै खाँणले चिन्ता जनाएका छन् ।

‘पीडितहरू सुरक्षित स्थानको अभावमा खुला आकाशमुनि गुजारा चलाउन बाध्य छन् भने खाद्यान्नको अभावले गर्दा भोक भोकै बसिरहेका छन्’, उनले भनेका छन् ।

‘हालको परिस्थितिमा गम्भीर, संवेदनशील, नागरिकप्रति उत्तरदायी र जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं’, उनले भनेका छन् ।

‘राज्यले अधिकभन्दा अधिक स्रोतसाधनको प्रभावकारी ढंगले परिचालन गरी वेपत्ता भएकाहरूको तीब्रताका साथ खोजी कार्य गर्न, घाइतेहरूको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन र मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित परिवारलाई राहत एवं सुरक्षित बासस्थानको व्यवस्थाका साथै उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जोडदार माग गर्दछौं’, खाँणले भनेका छन् ।

‘वर्षा अझ केही दिन सक्रिय रहने विज्ञहरूको भनाइ रहेकोले बाढी पहिरो र डुवानको उच्च जोखिम क्षेत्रका दिदीबहिनी तथा दाजुभाईहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अपील गर्दछौं’, खाँणले भनेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रकृतिक विपदका कारण घाइते हुनु भएकाप्रति शीघ्र स्वास्थ्यलाभको कामना, विस्थापित घरपरिवारप्रति सहानुभूति प्रकट गर्दै ज्यान गुमाउनु हुने सबैप्रति श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं’, उनले भने ।

Published : Thursday, 2020 September 24, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया