पूर्वबाट लखेटिएका तस्करहरूको प्रदेश ५ मा ठूलो धन्दा, डीआइजी धानुककाे संरक्षण, मुख्यमन्त्री माैन

काठमाडौं । सुपारी, हरियो केराउ तस्करहरूले प्रदेश ५ को नवलपरासीलाई अड्डा बनाएका छन् ।

प्रदेश १ र २ को प्रहरीले तस्करहरूलाई कडा निगरानी गरेपछि तस्करीमा संलग्नहरू हायलकायल भएका हुन् । प्रदेश १ र २ मा तस्करी गर्न नपाएपछि सुपारी, हरियो केराउलगायतका सामान भारततिर तस्करी गर्दै आएको समूह नवलपरासीको महेशपुर नाकालाई तस्करीको केन्द्र बनाएको रहस्य बाहिर आएको छ ।

प्रहरीले वीरगञ्ज, काँकडभिट्टालगायतका सीमा नाकामा टाइट गरेपछि प्रदेश ५ तिर तस्करहरूलाई फलीफाप भएको छ ।

प्रदेश ५ मा तस्करहरूकाे हर्कत बढ्दा समेत कम्युनिस्ट मुख्यमन्त्री शंकर पाेखरेल चुपचाप छन् । पाेखरेलले पूर्वबाट प्रदेश ५ छिरेका तस्करहरूका विषयमा थाहा पाएका छन् वा छैनन् रहस्य नै छ ।

०७७ साउन ३० मा एकैदिन १ लाख २६ हजार किलो हरियो केराउ वीरगञ्ज र बाराबाट नलपरासीमा गएको बिलबिजक फेलापरेका छन् ।

सुपारी तस्करहरूले प्रदेश १ को काँकडभित्ता भन्सार र बिराटनगर भन्सारमा उच्च निगरानी भएपछि महेशपुर नाकाबाट तस्करी शुरु गर्न थालेका हुन् ।

०७७ साउन ३० मा मात्रै करीब ३३ हजार किलो सुपारी १ नम्बर प्रदेशको काँकडभित्ता र बिराटनगरबाट सीमापार गराउन सम्भव नभएपछि महेशपुर नाकाबाट गराइएको छ ।

नवलपरासीका एसपी अजय केसी, सशस्त्रको २६ नम्बर गण पश्चिम नवलपरासीका एसपी महेश अधिकारीसम्मलाई मिलाएर महेशपुर नाकाबाट केराउदेखि मदिरालगायतका सामाग्री भारततर्फ तस्करी भइरहेको छ ।

तस्करहरूले प्रदेश ५ का डीआइजी रविन्द्रबहादुर धानुकसँग पनि सेटिङ गरेर महेशपुरबाट सुपारी, मदिरा, हरियो केराउ, छोहडा, मरिचलगायतका सामग्री भारततिर तस्करी गरेको उच्च स्रोतले जनाएको छ ।

डीआईजी धानुक सकारात्मक र संरक्षण नहुने हो भने तस्करहरूले छिरिक्क तस्करी गर्न सक्दैनन् । प्रदेश १ र २ मा तस्करी गर्न नपाएका तस्करहरूलाई प्रदेश ५ मा कुनै अवरोध नहुनु रहस्यको विषय मात्रै होइन डीआईजी धानुकमाथि नै प्रश्न उठेको छ ।

साउन महिनादेखि करोडौं मूल्य बराबरको सुपारी र केराउ महेशपुर नाकाबाट खुलेआम तस्करी हुँदै आएको छ ।

प्रदेश ५ का प्रहरी प्रमुख डीआइजी धानुकले तस्करहरूलाई सहज बनाउनका लागि महेशपुर सीमा प्रहरी चौकीका इञ्चार्ज आफ्नो इशारामा चल्ने टोपेन्द्र बुढा मगरलाई लगेको आरोप छ ।

महेशपुरका ईन्स्पेक्टर महेश्वर उपाध्यायलाई तानेर धानुकले आफ्ना विश्वासपात्र मगरलाई काजमा खटाएको स्रोतको भनाइ छ । असोज ५ को ईन्स्पेक्टरको सरुवामा मगरको दरबन्दी महेशपुरमा कायम भएको छ ।

नवलपरासीका प्रहरी प्रमुख एसपी केसी, सशस्त्र प्रहरीका एसपी अधिकारी र डीआइजी धानुकको मिलेमतोमा सुपारी, केराउ सुनवल भारततिर जाने गरेको छ ।

बर्दघाटको बाटोबाट पनि महेशपुरमा केराउ र सुपारी तस्करी हुँदै आएको छ । सुरुमा डीआइजी धानुक र एसपीको तस्करीको लाइन खोल्नेबारेमा कुरा मिलेको थिएन ।

नेपाली कांग्रेस नेता देवेन्द्रराज कँडेल ‘मुन्नाबाबु’ले सेटिङ मिलाइदिएको आरोप छ । मुन्नाबाबुको सेटिङमा साउनदेखि ठूलो परिमाणमा सुपारी र केराउ भारततर्फ तस्करीको माध्यमबाट प्रवेश भइरहेको छ ।

प्रदेश ५ का प्रहरी प्रमुख एवम् डीआइजी धानुकले महेशपुर नाकाबाट तस्करी हुने गरेको कुरा अस्वीकार गरेका छन् । उनले नवलपरासीमा मटर (केराउ) बोकेको गाडी प्रवेशमा रोक लगाइएको बताए ।

बालाजी इन्टरप्राइजेज प्रालिले सिद्धार्थ मल्टिनेशनल प्रालिका नाममा २०७७ साउन ३० मा ४ सय २० बोरा अर्थात् २१ हजार किलो हरियो मटर बीरगञ्जदेखि नवलपरासी पठाएको मोटर चलानी नम्बर बाहिरिएको छ ।

ना. ५ ख ७७३६ नम्बरको सफल ट्रान्सपोर्टको ट्रकमा बीरगञ्जबाट नललपरासीमा केराउ ढुवानी भएको देखिएको छ ।

रुंगटा प्रोसेसिङ इन्डष्ट्रिज परवानीपुरले ०७७ बाराबाट साउन ३० गते मा बैष्णोदेवी गल्लाभण्डार परासीको नाममा हरा मटर(केराउ) ४ सय ५० बोरा (२१हजार किलो) पठाएको चलानी नम्बर फेला परेको छ ।

ना ९ ख ३८६३ नम्बरको ट्रकमा १८ लाख ९० हजारको उक्त केराउ पनि भारततर्फ तस्करीका लागि बाराबाट परासी लगिएको स्रोतको दाबी छ ।

साउन ३० गते बालाजी इन्टरप्राइजेज बीरगञ्ज आदर्शनगरबाट सिद्धार्थ मल्टिनेशनल प्रालि नवलपरासीका नाममा १७ लाख १ हजार रुपियाँको ४ सय २० बोरा (२१ हजार किलो) केराउ पठाएको देखिएको छ ।

बालाजी इन्टरप्राइजेज प्रालि बीरगञ्जले श्री हनुमान जेटी ट्रेडर्स नवलपरासीका नाममा २१ हजार किलो हरियो केराउ पठाएको प्रमाण पनि फेलापरेको छ ।

जय मा अम्बे ट्रेडिङ पर्सा बीरगञ्जबाट पशुपति जेनरल स्टोर रामग्राम–६, परासीका नाममा २०७७ साउन ३० मा २१ हजार किलो केराउ प्रतिकिलो ८९ रुपियाँ ५० पैसामा पठाएको देखिएको छ ।

ना ६ ख ५४०८ गाडीबाट १८ लाख ७९ हजार ५ सय रुपियाँको केराउ पनि परासीमा तस्करीका लागि बीरगञ्जबाट पठाइएको स्रोतले जनाएको छ ।

शंकर ट्रेड एण्ड कन्सर्न बीरगञ्जबाट साउन ३० मा सफेद मटर(केराउ) ५० केजीको बोरामा ४ सय २० बोरा (२१ हजार किलो) केराउ जय विद्या ट्रेडर्स भैरहवाका नाममा चलानी काटेको प्रमाण पनि प्राप्त भएको छ ।

ना ६ ख ४४०९ नम्बरको ट्रकमा प्रतिकिलो ४६ रुपियाँका दरले ९ लाख ६६ हजार बराबरको सेतो केराउ तस्करहरूले महेशपुर नाकाबाटै तस्करी गराउन सफल भएका छन् ।

चलानी भैरहवाको काटे पनि त्यहाँबाट प्रमुख जिल्ला अधिकारीदेखि राजस्व अनुसन्धान विभाग पनि सेटिङ गर्दा असम्भव हुने भएपछि महेशपुरबाटा भारत पठाउन तस्करहरू सफल भएका छन् ।

०७७ साउन ३० गते रामटोबाको उद्योग प्रालि बुटवलका नाममा झापाको बि.एस. ट्रेडवेल, मेचीनगर, काँकडभिट्टाले १६ हजार किलो सुपारीको चलानी काटेको छ ।

४० लाख ६८ हजार रुपियाँको सुपारी पनि भारततर्फ तस्करी भएको स्रोतले उल्लेख गरेको छ । प्रतिकिलो २ सय २५ रुपियाँको सुपारी पनि महेशपुरबाटै भारत प्रवेश गराइएको छ ।

ट्रलिप इन्टरनेशनल, बिराटनगर–२ बाट श्रीराम टोबाको उद्योग प्रालि बुटवलको नाममा १६ हजार २० किलो (२६७ बोरा) सुपारी साउन ३० गते महेशपुरबाट तस्करीमार्फत् भारततर्फ पठाइएको छ ।

३७ लाख २९ हजार १ सय ३५ रुपियाँ बराबरको सुपारी बिराटनगरको ट्रलिप इन्टरनेशनलको नाममा कर बिजक देखाएर परासीबाट भारततर्फ तस्करी भएको छ ।

प्रदेश १ र २ बाट तस्करी गर्न नपाएछि तस्करहरूले प्रहरीसँगको सेटिङमा प्रदेश ५ को महेशपुर नाकालाई प्रयोग गरेका हुन् ।

प्रदेश ५ का प्रहरी प्रमुख डीआइजी धानुक प्रदेश कार्यालय दाङको तुलसीपुरमा बस्दैनन् । धानुक बुटवलस्थित तालिम केन्द्रमा रहेको प्रदेश प्रहरीको सम्पर्क कार्यालयमा बस्दै आएका छन् ।

एसपी अजय केसीको पहलमा तस्करीमा बादशाहका रुपमा कहलिएका महेन्द्र ठाकुरसँँग पनि डीआइजी धानुकको भेट भएको थियो ।

रामग्राम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ठाकुर महेशपुर नाकाबाट भारततर्फ तस्करी गर्ने मुख्य हर्ताकर्ता हुन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका ठाकुर कांग्रेस नेता देवेन्द्रराज कँडेलबाट संरक्षित छन् । वडाध्यक्ष ठाकुर पनि तस्करीमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

केही महिनाअघि भारतीय टीभी च्यानलले नेपालको महेशपुर नाकाबाट प्रहरीकै मिलेमतोमा केराउ, मरिच र मदिरा नेपालबाट भारतमा तस्करी हुने गरेको प्रचार गरेका थिए ।

भारतको ठुठीबारी बजारमा नेपालबाट तस्करी गरी लगिएको केराउ, मरिच र छोहडा भारतीय प्रहरीले बरामद गरेको भिडियो नै प्रशारण भएको थियो ।

Published : Thursday, 2020 September 24, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया