पाल्पामा पहिरोमा पुरिएर एकको मृत्यु, ठाउँ–ठाउँमा क्षति

तानसेन । पाल्पा जिल्लामा वर्षासँग आएको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् ।

बिहीबार बिहान ३ बजेतिर रम्भा गाउँपालिका–२ सुरुङडाँडा बस्ने बीरबहादुर गाहाको घर पहिरो कारण पुरिदा २७ वर्षीया मोतीसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए । पहिरोमा परी १४ वर्षीया अञ्जु पुन सामान्य घाइते भएकी छिन् ।

उता, रैनादेवी छहरा गाउँपालिका–२ सोमादी बासखर्क बस्ने बेलबहादुर श्रेष्ठको कुखुराको फार्म अविरल वर्षाका कारण बुधबार राति भत्किएको छ ।

फार्ममा रहेको ७५ वटा बोईलर कुखराहरूको मृत्यु भएको छ । कुखुराहरू मृत्यु हुँदा करीव दुई लाख बरावरको क्षति भएको छ ।

बगनासकाली गाउँपालिका–४ तिखुम बस्ने रुकबहादुर चर्तीको कच्ची गोठ पहिरोका कारण क्षति भएको छ । गोठमा रहेका २ वटा भैँसी र ३ वटा बाख्राको मृत्यु भएको छ ।

रामपुर नगरपालिका– १ हागेपिपल बस्ने प्रेमबहादुर सार्कीको गोठ पहिरोका कारणले क्षति भएको छ । गोठभित्र रहेका १ वटा बाख्राको मृत्यु भएको छ ।

तिनाउँ गाउँपालिका–६ कोस बस्ने चित्र रावलको पहिरोको कारणले गोठ र ट्वाईलेट पुरिएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गोठभित्र रहेका ४ ओटा बाख्राको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका–४ केरौलीस्थितमा रहेको श्री चित्रेछाप प्राबिको ४ कोठे भवनमा पहिरोको कारणले क्षति भएको छ ।

माथागढी गाउँपालिका–४ केरौली बस्ने हुमबहादुर सारुको घोठ समेत पहिरोले पुरिएको छ । गोठभित्र रहेका ४ वाट बाख्राको मृत्यु भएको छ । (फाइल तस्वीर)

Published : Thursday, 2020 September 24, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया