विश्वप्रकाशको चेतावनीले ओलीलाई तनाब, दवावमा परे कम्युनिस्ट

काठमाडौं । नेपाली कांग्रेसले डा.गोविन्द केसीले खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई तत्काल वार्ता शुरु गर्न अपील गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर डा.केसीका जायज माग पूरा गर्न र उनको जीवन जोगाउन प्रधानमन्त्री ओलीलाई सार्वजनिक अपील गरेका हुन् ।

‘प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन’, प्रवक्ता शर्माले भनेका छन् ।

‘डा.केसीको पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगञ्ज हुँदै काठमाडौं पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दासम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगीको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, कांग्रेसकै पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्चस्तरीय माथेमा कार्यदल बनाइएको र डा.केसीका मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” पनि नेपाली कांग्रेसकै पालामा जारी गरिएको सर्वविदितै छ’, शर्माले भने ।

‘सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइँमा पुगिसकेको हुने थियो’, कांग्रेसले भनेको छ ।

‘डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ’, शर्माले भनेका छन् ।

‘डा.केसीको स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि इमानदार वार्ता र सार्थक कार्यान्वयनमा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ’, उनले भनेका छन् ।

Published : Wednesday, 2020 September 23, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया