जनसम्पर्क विभागमा बाबु–छोरी मनोनीत, कांग्रेसमा सक्षम कार्यकर्ता अरु छैनन् ?

काठमाडौं, ७ असोज । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा बाबु–छोरीनै मनोनीत भएको रहस्य बाहिर आएको छ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख गोविन्द भट्टराईले दिलबहादुर गुरुङ र उनकी छोरी नाचोङ गुरुङलाई सदस्यमा मनोनीत गरेका हुन्।

दिलबहादुर गुरुङ नेपाली जनसम्पर्क समिति जर्मनका नेता हुन्। नाचोङ गुरुङ मनाङ जिल्ला निवासी हुन्।

दिलबहादुर गुरुङ पूर्वमन्त्री एवम् वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङका भाइ पनि हुन् ।

टेकबहादुर गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले भृकुटीमण्डपको फनपार्क रहेको जग्गाको करोडौँ घोटाला काण्डमा विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दर्ता गराएर चलाएको छ। पूर्वमन्त्री एवम् कांग्रेस नेता टेकबहादुर गुरुङले भ्रष्टाचारको मुद्धा खेपिरहेका छन्।

यी दुबै बाबु–छोरी कांग्रेसका नेता तथा कार्यकर्ता थिए भने पनि अलग–अलग विभागहरूमा मनोनीत गर्नुपर्ने थियो। गुरुङका बाबु–छोरीलाई एउटै विभागको सदस्य बनाउने समस्या भट्टराईलाई के आइपु¥यो भनेर प्रश्न उठेको छ।

हुन त विभागको सदस्यमा धादिङका बद्री अर्याललाई पनि मनोनीत गरिएको छ। अर्यालले केही समय अगाडि सामाजिक सञ्जालमा सभापति शेरबहादुर देउवाको अपमान हुने गरेर अभिव्यक्ति दिएको भनेर आलोचना र टिकाटिप्पणी भएको थियो।

विभागका प्रमुख भट्टराईकै सिफारिसमा सभापति देउवाले दुई दिन अगाडि ३४ जना सदस्य मनोनीत गरेका थिए। यसअघि सात जनालाई सदस्य मनोनीत गरिएको थियो। योसँगै विभाग ४१ सदस्यीय बनेको छ।

विभागमा उठेकाे प्रश्नबारे के भन्छन् गोविन्द भट्टराई ?

विभागमा मनोनीत सदस्यहरू सबै सक्षम व्यक्तिहरू हुनुहुन्छ। दिलबहादुर गुरुङ भनेको व्यक्ति युरोपमा नेपाली कांग्रेसको जनसम्पर्क समितिको संस्थापक हुनुहुन्छ। उहाँकै कारण कांग्रेसको बीउ युरोपमा भएको हो।

उहाँले कांग्रेसको संगठन निर्माणका लागि ठूलो योगदान गर्नुभएको छ। नाचोङ गुरुङ नेपाल महिला संघ मनाङको सभापति हुनुहुन्छ। उहाँलाई नेपाली कांग्रेसको मनाङ जिल्ला कांग्रेसले नै सिफारिस गर्नुभएको थियो। दिलबहादुर गुरुङ र नाचोङ गुरुङ बाबु–छोरी भएपनि उहाँहरूको कांग्रेसमा अलग–अलग योगदान छ।

बद्री अर्याललाई मैले नै सिफारिस गरेको हुँ। अर्यालजी नेविसंघको सह–महामन्त्रीका साथै विभिन्न पदमा बसेर कांग्रेसको संगठन निर्माणका लागि काम गर्नुभएको हो।

महिला, आदिवासी, जनजातीहरू विभागमा पूर्ति गर्नुपर्नेछ। विभागलाई समावेशी बनाउने दायित्व पनि मेरो हो। मेरो विभागका थोरै भएपनि महिलाहरू राखेको छु। कतिपय विभागहरूमा महिलाहरू छैनन्।

Published : Wednesday, 2020 September 23, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया