राप्रपाले झण्डा फेर्‍यो, चुनाब चिन्ह हलो, साइजमा आइपुगे कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो झण्डा र चुनाव चिन्ह टुंगो लगाएको छ।

काठमाडौंमा मंगलबार बसेको पदाधिकारीहरूको बैठकपछि जारी विज्ञप्तिअनुसार साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘गाई’ अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकीकृत पार्टीको झण्डा हुने उल्लेख छ। राप्रपाले आफ्नो झण्डामा गाईलाई राखेर झण्डा परिवर्तन गरेको छ। राप्रपाको चुनाव चिन्ह ‘हलो’ कायम गर्ने निर्णय भएको छ।

कमल थापाले गाईलाई चुनाव चिन्ह बनाउन खाेजेका थिए। पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लाेहनीले नमानेपछि हलाे चनाब चिन्ह हुन पुगेकाे छ। थापाकाे गाई झण्डामा पुगेकाे छ। राणा र डा.लाेहनीले थापालाई साइजमा ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिबेशन २०७८ वैशाख २५ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

‘स्थानीय तहको निर्वाचन नजिकिँदै गएको सन्दर्भलाई दृष्टिगत गर्दै उल्लेखित मितिमा महाधिबेशन अनिवार्य रुपले सम्पन्न गरिनेछ’, विज्ञप्तिमा भनिएको छ।

‘२०७६–११–२४ को एकीकरण सम्बन्धि आधार पत्र बमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)वीच भएको एकीकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ।

‘पार्टीको अन्तरिम विधान सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)वीच भएको मिति २०७६–११–२४ को एकीकरणसम्बन्धि आधार पत्र बमोजिम पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने तथा साविक राप्रपाको विधान एकीकृत पार्टीको अन्तरिम विधान हुने सहमति भएको हुँदा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनैतिक घोषणा पत्रलाई एकीकरण पश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ।

पार्टीको नियमावली, घोषणापत्र, झण्डा र छाप (लोगो) सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी संचालनार्थ तयार गरिएको नियमावली, घोषणापत्र र लोगो (छाप) लाई बैठकले अनुमोदन गर्दै निर्वाचन आयोगमा पठाउने निर्णय भएको छ।

पार्टी अन्तरिम विधान, नियमावली र घोषणापत्रमा उल्लेखित कुनै बुँदाहरू बाझिएमा पार्टी एकीकरणसम्बन्धि आधारपत्रअनुसार नै हुने निर्णय राप्रपाले गरेको छ।

राप्रपाको पदाधिकारी बैठकले निर्वाचन आयोगमा गई राष्ट्रिय प्रजातन्त्र पार्टी दर्तासम्बन्धि सम्पूर्ण काम कारवाही गरि दल दर्ता गरी ल्याउनको लागि नेता दीपक बोहोरा, बरिष्ठ अधिवक्ता एवं केन्द्रीय सदस्य राजु बस्नेत, केन्द्रीय सदस्य धुव्रबहादुर प्रधान, केन्द्रीय सदस्य रामशरण पाठकलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

Published : Tuesday, 2020 September 22, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया