प्रधानमन्त्री र गृह मन्त्रीज्यू आफ्ना कार्यकर्ता सम्हाल्नुस्ः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले गुल्मी कांग्रेसले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने कार्यक्रमको क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

प्रमुख सचेतक खाँणले मंगलबार विज्ञप्ति जारी गरेर कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको बताएका छन्।

‘हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ’, उनले भने, ‘शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो।’

‘गुल्मी घटनामा संविधानको मूल्य, मान्यता, मर्म र भावनाको ठाडो उल्लंघन भएको छ’, उनले भने, ‘उक्त घटनाले मौलिक हकलाई कुण्ठित गर्ने र नागरिकको आवाजलाई दबाउने कार्य भएको छ।’
‘स्थानीय प्रशासन एवं सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ’, प्रमुख सचेतक खाँणले भनेका छन्।

‘प्रहरी प्रशासनको दमनमा परी कांग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका साथीहरू घाइते हुनु भएको छ’, खाँणले विज्ञप्तिमा भनेका छन्।
‘जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ’, उनले भने, ‘उक्त घटनामा घाईते हुनु भएका सम्पूर्ण साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

‘सरकार नेपाली जननताप्रति अनुत्तरदायी भइरहेको छ’, उनले भने, ‘एकपछि अर्को जनविरोधी कार्यहरूलाई प्रश्रय दिदै आइरहेको छ।’

‘सरकारले जनताका दुःख पीडा र समस्याहरूलाई सम्बोधन गर्नुपर्ने र हालको विषम परिस्थितिमा जनताको जीवन रक्षाका लागि जनउत्तरदायी, गम्भीर र संवेदनशील बन्नु पर्नेमा त्यसको विपरित भ्रष्टाचारमा लिप्त हुने, संविधान विपरिपत कार्यहरुमा अग्रसर छ, जुन सरकारका लागि लजास्पद विषय हो’, खाँणले भनेका छन्।

‘सरकारका यस्ता किसिमका गैरजिमेम्वार र गैरकानूनी कार्यको खबरदारी गर्दै गलत कदम रोक्न चेतावनी दिन चाहन्छ’, उनले भनेका छन्।

‘गुल्मी घटनाको छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृह मन्त्रीको समेत ध्यानाकर्षण गराउन चाहन्छौं’, प्रधानमन्त्री खाँणले भनेका छन्।

‘आमनागरिकलाई सरकारको प्रत्याभूति दिलाउन, लोकतान्त्रिक कार्यको समर्थन र संविधानको पूर्ण पालना गर्न नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ’, उनले भनेका छन्।

Published : Tuesday, 2020 September 22, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया