कमल थापाको अडान भत्कियो, राप्रपामा राणा र डा.लोहनीको शानदार जित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा चुनाव चिन्हको विवाद अन्त्य भएको छ।

राप्रपाको चुनाव चिन्ह अब ‘हलो’ हुनेछ। राप्रपाका तीन जना अध्यक्षहरू कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच सोमबार भएको छलफलमा चुनाव चिन्ह ‘हलो’ बनाउने सहमति भएको हो। सो सहमतिलाई मंगलबार बस्ने कार्यसम्पादन समितिले अनुमोदन गरेर निर्वाचन आयोगलाई जानकारी दिइनेछ।

‘हिन्दूराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो’, थापाले ट्वीट गर्दै भनेका छन्, ‘पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरूमा अपील गर्दछु।’

‘अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं’, अध्यक्ष थापाले भनेका छन्।

राप्रपाको चुनाव चिन्ह ‘गाई’ बनाउन थापाले ठूलो प्रयास गरेका थिए। अध्यक्षद्वय राणा र डा.लोहनीले अडान नछाडेपछि थापा झुक्न बाध्य भएका छन्।

राप्रपाको पुरानो दर्तालाई कायम गरेर विधान संशोधन गर्ने सहमति पनि भएको छ। राप्रपाको केन्द्रीय कार्यसमितिको सदस्य संख्यालाई १६५ बाट ३२७ बनाउने सहमति पनि तीन अध्यक्षबीच भएको छ।

राप्रपाको आगामी वर्षको वैशाखको तेश्रो हप्ता केन्द्रीय महाधिवेशन हुनेछ। राजनीतिक कार्यदिशाका विषयमा केही भनिएको छैन। अध्यक्ष थापा र तेस्रो वरीयताका अध्यक्ष डा.लोहनी राजसंस्थाका पक्षमा छन्। दोस्रो वरीयताका अध्यक्ष राणा राजसंस्थाका विषयमा धेरै सकारात्मक छैनन्।

Published : Tuesday, 2020 September 22, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया