नेकपाका कार्यकर्ताहरूले औकात देखाएपछि विश्वप्रकाशले माग गृहमन्त्रीसँग स्पष्टीकरण, गुल्मी कांग्रेस सभापतिनै घाइते

गुल्मी । प्रहरीसँगको झडपमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, पूर्णबहादुर केसीसहितका नेता तथा कार्यकर्ता घाइते भएका छन्।

रेसुंगा नगरपालिका वडा नं. १२ को रानीपोखरी निमाविको विषयलाई लिएर कांग्रेसका कार्यकर्तालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताले कुटपिट गरेपछि गुल्मी कांग्रेसले सोमबार कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।

कुटपिटमा संलग्न नेकपाका कार्यकर्तालाई पक्राउ गरेर कारबाहीको माग राखेर जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर कुटपिट गरेको कांग्रेसका सचिव खिलध्वज पन्थीले जानकारी दिए।

प्रहरीसँगको झडपमा कांग्रेसका सभापति श्रेष्ठ र केसीसहित प्रहरी निरीक्षक राजकुमार रावलसहित चार प्रहरी घाइते भएको गुल्मीका प्रहरी प्रमुख केदारराज पन्तले जानकारी दिए।

कांग्रेसका नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीको भनाइ छ।

कांग्रेस गुल्मीका सभापति श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नलाई उन्मुक्ति दिइरहेको आरोप लगाएका छन्।

उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

रानीपोखरी निमाविको भवन कसले निर्माण गर्ने भन्ने विषयमा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेका थिए ।

सत्ताको आडमा नेकपाका ‘अरिँगाल’हरूले कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गरेको सभापति श्रेष्ठले बताए। ‘गुल्मीमा नेकपाको सत्ताको आडमा उन्माद बढेको छ’, उनले भने, ‘नेकपाका अरिँगालहरूले कांग्रेसका कार्यकर्ता कुटपिट गरेका छन्। कुटपिटमा संलग्नलाई कारबाही गर्न गुल्मीको प्रहरी प्रशासन मौन छ।’

उनले भने, ‘सत्ताको आडमा अरिँगालहरूले औकात देखाएका छन्। प्रहरी प्रशासनले उनीहरूलाई संरक्षण गरेको छ।’

दोषीलाई कारबाहीको माग गरेर जिल्ला प्रशासन अगाडि शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको सभापति श्रेष्ठले आरोप लगाएका छन्।

यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर गुल्मीमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

‘सोमबार असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो’, शर्माले भनेका छन्।

‘कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको ¥याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नु पूर्व रोकियो’, विज्ञप्तिमा भनिएको छ।

‘रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो’, उनले भने, ‘पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले धक्कामुक्का गर्दै दुर्व्यवहार गरियो।’

‘घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका साथीहरू घाइते हुनु भयो’, प्रवक्ता शर्माले भनेका छन्, ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो बिमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

‘स्थानीय प्रशासनको दुर्व्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गर्दछ’, शर्माले विज्ञप्तिमा भनेका छन्।

‘गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकारका घटना दोहोर्‍याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ।’

Published : Tuesday, 2020 September 22, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया