कांग्रेस नेता आलमले न्याय पाउने सम्भावना बढ्यो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको कैफियत प्रतिवेदन मागेको छ।

सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्माको इजलाशले आइतबार घटनासम्बन्धी सबै विवरण भएको फाइल झिकाउने आदेश दिएको हो।

पहिलो संविधानसभा निर्वाचनमा आलमले बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ। त्यसपछि उनी थुनामा छन्।

०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायतलाई जीउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई ०७६ असोजमा प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ।

जिल्ला अदालत रौतहटको आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालतले सदर गरेको थियो।

जिल्ला र उच्च अदालतको आदेश बदरको माग गर्दै पूर्वमन्त्री आलमले भदौ ३१ गते सर्वोच्चमा निवेदन दिएका थिए।

नेपाली कांग्रेसका नेता आलमले सो घटनामा आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। सर्वोच्च अदालतबाट आफूले न्याय पाउने बताउने गरेको आलमका कानून व्यवसायीहरूले बताएका छन्।

आलमलाई फसाउन रौतहट जिल्लाका कम्युनिस्टहरू सक्रिय भएर लागेको आरोप आफन्तहरूको छ ।

Published : Sunday, 2020 September 20, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया