कांग्रेसलाई ठूलो पार्टी बनाएरै छाड्छुः शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई ठूलो बनाउने प्रतिवद्धता जनाएका छन्।

उनले कांग्रेस पार्टीलाई ठूला बनाएरै छोड्ने आफ्नो अठोट ब्यक्त गरेका हुन्।

नेपाली कांग्रेस महिला विभागले आइतबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिलेको अवस्थाभन्दा पार्टीलाई ठूलो बनाउन आफू लागिपरेको बताए ।

‘पार्टीलाई ठूलो बनाउन लागेको छु’, उनले भने, ‘मेरो अठोट पार्टीलाई ठूलो पार्टी बनाएरै छोड्छु भन्नेछ।’

तत्कालीन नेकपा (एमाले) र एमाओवादी केन्द्र दुई पार्टी एक भएर चुनाव लडेको र कांग्रेस एउटा पार्टी दुइटाजस्तो भएर चुनाव लड्दा पार्टी दोस्रो हैसियतमा रहेको सभापति देउवाले बताएका छन्।

‘एमाले र माओवादी एक पार्टी भएर लड्यो’, उनले भने, ‘कांग्रेस एक पार्टी भएर पनि दुइटाजस्तो भएर लड्यो।’

उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी नै छ।’

देउवाले कांग्रेस नेतृहरूलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न आग्रह गरेका छन्।

कांग्रेस महिलामैत्री पार्टी भएको र पार्टीमा ३३ प्रतिशत महिलालाई समावेश गरेको बताए ।

‘महिलाहरूबाट कांग्रेसलाई जति भोट आउनुपर्ने त्यो नआएको गुनासो सुनेको छु,’ उनले भने, ‘भोट बढाउनु पर्‍यो।’

कांग्रेसलाई देउवाले बिगारेको भनेर आरोप लागेका बेला उनले अब कांग्रेस पार्टीलाई ठूलो बनाएरै छाडे उल्लेख गरे ।

उनले निर्वाचनका बेला पार्टीभित्र देखिएको अन्तरघात र असहयोगको वातावरणलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

Published : Sunday, 2020 September 20, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया