कम्युनिस्ट सरकारको हर्कतको भण्डाफोर र विराेधमा उत्रिन कांग्रेस संसदीय दलको आह्वान

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले विगत ६ महिनाभन्दा बढी समयदेखि कोरोनाभाइरसको कारण सिंगो मुलुक आक्रान्त रहेको भन्दै सरकारले काम गर्न नसकेको जनाएको छ ।

खाँणले कांग्रेसका छायाँ मन्त्रीहरू पत्र लेखेर लामो समयसम्म देशभरका उद्योग व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात, पर्यटन, वित्तिय क्षेत्र लगायतका सबै क्षेत्र ठप्प रहेको जनाएका हुन् ।

‘हाल आंशिक रुपमा केही व्यवसाय सञ्चालन भएता पनि सबै व्यवसाय सञ्चालनको वातावरण बनि सकेको छैन’, उनले भने, ‘यसको प्रत्यक्ष असर आम नागरिकले व्यहोरीरहेका छन् ।’

कांग्रेस नेता खाँणले श्रमिकहरूले रोजगारी गुमाएको भन्दै कोरोनाका कारण कयौं नागरिकहरू भोकभोकै बस्नुपरेको जनाएका छन् ।

‘कोरोनाको कारण सयौंले ज्यान गुमाइसकेका छन्’, उनले भने, ‘बाढीपहिरो र डुवान तथा अन्य प्रकृतिक विपदका कारण हजारौं घरपरिवार विस्थापित भएका छन् भने कयौं व्यक्ति बेपत्ता र सयौको मृत्यु भइसकेको छ ।’

‘यस्तो विषम एवं दुःखद परिस्थितिमा नेपाली जनताको जीवन रक्षाका लागि सरकार जनउत्तरदायी, गम्भीर र संवेदनशील बन्नु पर्नेमा त्यसको ठिक विपरित भ्रष्टाचार, अनियमिततामा लिप्त रहेको र जनता प्रति उदासिन एवं अनुत्तरदायी भएको छ’, खाँणले भनेका छन् ।

‘सरकारले जनताका दुःख पीडा र समस्याहरूलाई वेवस्ता गरी एकतर्फी रुपमा आफ्नो मनोमानी गरिहेको छ’, उनले भने, ‘हाल सदन चालु नरहेको अवस्थामा जनताका समस्याबारे आवाज उठाउन र सरकारलाई प्रत्यक्ष रुपमा खबरदारी गर्न समेत बाधा पुगी रहेको अवस्था छ ।’

‘सरकार, मन्त्रालय र मातहत निकायबाट भएका बेथिति, अनियमिता, भ्रष्टाचार र जनविरोधी क्रियाकलापको जानकारी र निगरानी राख्ने, त्यसको खबरदारी गर्ने र आम जनसमुदायलाई सूचित गर्ने कार्य प्रमुख प्रतिपक्ष दलको कर्तव्य हो’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयहरूको जानकारी र निगरानी गरी सरकारबाट भएका जनविरोधी, गैरउत्तरदायी र गैरकानूनी कार्यहरूबारे जनतालाई सूचित गर्र्न, सरकारलाई खबरदारी गर्न र तमाम गतल गतिविधि रोक्नका लागि क्रियाशील रहन आग्रह गरिन्छ’, नेता खाँणले भनेका छन् ।

कम्युनिस्ट सरकारले कोरोनाका विषयमा काम गर्न सकेको छैन । बाढीपहिरोपीडितलाई राहत दिन सकेको छन । मूल्यवृद्धि भएको छ । त्यसलाई रोक्न सकेको छैन ।

भ्रष्टाचार र अनियमितता भएको भन्दै कांग्रेसले कम्युनिस्ट सरकारको भण्डाफोर गर्न शुरु गरेको छ ।

Published : Sunday, 2020 September 20, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया