डा.गोविन्द केसीको माग पूरा गर कम्युनिस्ट सरकारः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले अनसनरत डा.गोविन्द केसीको माग पूरा गर्न कम्युनिस्ट सरकारसँग आग्रह गरेका छन् ।

प्रमुख सचेतक खाँणले आइतबार विज्ञप्ति जारी गरेर डा.केसीका माग सरकारले सम्बोधन नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि पटक–पटक अनसन बस्नु भएका डा. गोविन्द केसी हाल एक सातादेखि कर्णाली प्रदेशको जुम्ला जिल्लामा विगतका माग राखी पुनः अनसनमा बस्नु भएको छ’, खाँणले भने ।

उनले भनेका छन्, ‘उहाँले राख्नु भएका जायज मागहरूलाई सरकारले सम्बोधन नगरेको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘अनसनका कारण उहाँको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उहाँको मागलाई वेवस्ता गर्नु अत्यन्त दुःखद विषय हो’, उनले भने ।

‘सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गर्नु भएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य सम्बन्धित अध्यादेशलाई समेत कार्यान्वयन गर्नका साथै डा. केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, कांग्रेसका मुख्य सचेतक खाँणले भनेका छन् ।

उनले अनसनरत डा.केसीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले डा.केसीका माग पूरा गर्ने हो भने जनतालाई नै फाइदा पुग्ने कांग्रेसले जनाउँदै आएको छ ।

Published : Sunday, 2020 September 20, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया