देउखुरीको चिमचिमे शनिबारदेखि कम्युनिस्टको किल्ला रहेन, कांग्रेसले चारतारे झण्डा गाढ्यो

लमही । दाङको देउखुरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पहिरो गएको छ ।

देउखुरीको गढवा गाउँपालिका वर्ड नं. २ चिमचिमेका नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपाका नेता तथा कार्यकर्ताहरूलाई दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, कांग्रेसका नेता जानकीलाल बस्नेत, युवा नेता एवम् नेविसंघका पूर्वउपाध्यक्ष पवन यादबसहितका नेताहरूले पार्टीमा प्रवेश गराएका हुन् ।

कार्यक्रममा कांग्रेस नेताहरूले चिमचिमको समस्या र चिमचिमेका जनताको मागलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

चिमचिमे तत्कालीन माओवादीको अधार किल्लाका रुपमा परिचित थियो । माओवादी शान्ति प्रक्रियामा आएसँग चिमचिमेका जनताको दुःख पीडामा कुनै ध्यान दिएको थिएन ।

एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा बन्दा समेत चिमचिमेका जनताको जीवनमा कुनै सुधार भएन । जीवनका आधारभूत समस्या पनि झण्डै दुईतिहाइको नेकपाको सरकारले समाधान नगरेपछि ५१ घरका सबै परिवारहरू नै शनिबार विशेष कार्यक्रम गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चिमचिमेमा ७९ घरपरिवार बसोबास गर्दै आएका छन् । देउखुरीको उत्तरी चुरेको जंगलमा पर्ने चिमचिमेका जनताका धेरै समस्या छन् । त्यहाँ जान अहिले पनि कठिनाइ छ ।

चिमचिमेका ७१ घरमध्ये ५१ घरका घरमुलीहरू नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेको नेविसंघका नेता पवन यादबले जानकारी दिएका छन् ।

कम्युनिस्टहरूको झुठको अश्वासनबाट दिक्क भएका उनीहरूले कम्युनिस्टका नेताहरूका भनाइमा विश्वास नगर्न अनुरोध गरेका छन् ।

कम्युनिस्टहरू दुईतिहाइको आड र दम्भमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै चिमचिमेका जनताले कम्युनिष्ट छाडेर कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

माओवादीको कथित जनयुद्धका बेला माओवादीका नेताहरू यही चिमचिमे लुकेर बस्दै आएका थिए । चिमचिमेमा लुकेर बसेका माओवादी नेताहरूको जीवन शहरका आलिशान घरमा केन्द्रित भएको छ । तर, चिमचिमेका जनताको जीवन उस्तै छ ।

दाङबाट माओवादीकै कृष्णबहादुर महरा जितेर सभामुख र पटक–पटक मन्त्री बनेका थिए ।

महराले संसद सचिवालयकै महिला कर्मचारीलाई समेत दुर्व्यवहार गरेको अभियोगमा लामो समय कारागारमा जीवन विताउनु परेको थियो ।

एमालेबाट तत्कालीन समयमा निर्वाचित शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री छन् । पोखरेलले नि चिमचिमेका जनताको आधारभूत समस्या समाधान गरेका छैनन् ।

चिमचिमे दाङ क्षेत्र नं. १ मा पर्छ । १ नं. क्षेत्रबाट तत्कालीन एमालेका नेता मेटमणि चौधरीले चुनाब जितेका छन् । चौधरीले पनि चिमचिमेलगायत क्षेत्र नं. १ मा सिन्को पनि भाँच्न नसकेको आरोप नेकपाकै मतदाताहरूको आरोप छ ।

Published : Sunday, 2020 September 20, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया