दाङ कांग्रेसका नेता चौधरीले २५ वर्ष अगाडि यसरी भित्र्याएका थिए रेल, कम्युनिस्टका हल्लै ठूला

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पहिलो पटक रेल नेपालमा ल्याएर चलाए जसरी हल्लाखल्ला र प्रचारबाजी गरेको छ ।

भारतबाट ल्याइएका दुई वटा नयाँ रेलका विषयमा कम्युनिस्टहरूले नानाभाँती प्रचार गरेका हुन् । अहिले आएका दुई वटा रेल नेपालले भारतसँग किनेर शुक्रबार जनकपुर ल्याएको हो ।

ब्रोडगेज बाटो भने भारतले निःशुल्क बनाइदिएको हो । तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको भारत भ्रमणका बेला भारतीय शहरसँग जोड्नका लागि भारतले ब्रोडगेज बाटो बनाइदिने सहमति भएको थियो । सोही सहमतिअनुसार भारतले रेलको बाटो बनाएपछि रेल भने नेपाल सरकारले किनेको हो ।

हुन त चन्द्रशम्शेर राणाको पालमै नेपालमा रेल चलेको थियो । रेल जयनगरदेखि बारा जिल्लासम्म चल्ने गर्दथ्यो । त्यति मात्रै होइन रेल कोसी व्यारेज हुँदै धरानसम्म पनि जाने गरेको थियो ।

नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले २५ वर्ष अगाडि नै डिजेलबाट चल्ने रेल भारतबाट ल्याएको थियो ।

त्यस बेला यातायात संस्थानको महानिर्देशक राजेन्द्रप्रसाद चौधरी थिए । संस्थानको एउटा शाखामार्फत रेलको काम हेर्ने गरिन्थ्यो ।

महानिर्देशक चौधरीले नै २५ वर्ष अगाडि कांग्रेसको सरकारका पालामा डिजेलबाट चल्ने रेल भित्र्याएका हुन् ।

ओलीको कम्युनिस्ट सरकारले शुक्रबार नेपालमा रेल ल्याएको कुरालाई के–के नल्याएको जस्तो गरी प्रचारबाजी गरेको छ ।

नेपालमा २५ वर्ष पहिला डिजेल इञ्जिनको रेल भित्र्याउने राजेन्द्रप्रसाद चौधरी अहिले पनि जीवितै छन् । दाङ जिल्लाको देउखुरीका स्थायी बासिन्दा चौधरी तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय कार्यालयको सचिव समेत थिए ।

चौधरीका छोरा समेत रहेका पूर्वसांसद योगेन्द्र चौधरी अहिले पनि नेपाली कांग्रेसमा छन् । योगेन्द्र चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । ‘मेरो बुबा राजेन्द्रप्रसाद चौधरी यातायात संस्थानको मानिर्देशक हुनुहुन्थ्यो’, योगेन्द्र चौधरीले भने, ‘उहाँले नै गिरिजाबाबु प्रधानमन्त्री भएका बेला भारतबाट डिजेल इञ्जिनका रेल नेपालमा भित्र्याउनुभएको हो ।’

‘ओलीजीले भनेको चुच्चो परेको रेल चीनबाट ल्याउँछु भन्नुभएको थियो’, केन्द्रीय सदस्य चौधरीले भने, ‘नेपालको झण्डा बोकेको पानीजहाज र चीनबाट पर्वत हुँदै लुम्बिनी जाने भनेको रेल आयो भने बल्ला हामीले पत्याउँला ।’

ओलीले निर्वाचनका बेला चीनबाट पोखरा, पर्वत हुँदै लुम्बिनीसम्म रेल चलाउने बताएका थिए । ओलीले चीनबाट ल्याउने रेलको टुंगो लागेको छैन । तर, नेपाली कांग्रेसको सरकारले अगाडि बढाएको काम ओली सरकारको पालामा पूरा हुँदा भारतबाट शुक्रबार दुई वटा रेल आएका छन् ।

ओलीले निर्वाचनका बेला चीनको रेल र नेपाली भण्डा रहेको पानीजहाज समुद्रमा चल्ने र नदी हुँदै नेपालमा सामान लिएर आउने बताएका थिए । चीनको रेल र पानीजहाजको तिर्खा मेटाउन ओली सरकार र कम्युनिस्टहरूले जनकपुरमा भारतबाट शुक्रबार आएको रेललाई विभिन्न प्रचारबाजी गरिरहेका छन् ।

भारतबाट ल्याइएका दुई वटा रेलका विषयमा विभिन्न खालका हल्लाखल्ला भएपछि यातायात संस्थानका तत्कालीन महानिर्देशक चौधरीका छोरा सुरेन्द्रप्रसाद चौधरीले पनि रेल ल्याइएको त्यस बेलाका तस्वीरहरू सार्वजनिक गर्दै ओली सरकारको आलोचना गरेका छन् ।

उनले भनेका छन्, ‘२५ वर्ष अगाडि मेरो पिताजीले नेपालमा डिजेलबाट चल्ने रेल ल्याउनुभएको थियो । यो कुरा भन्न मन लाग्यो । अन्यथा नहोस् ।’

ओलीको कम्युनिस्ट सरकारले सक्छ भने चीनबाट रेल ल्याएर देखाउनुपर्छ । होइन भने कांग्रेसको पालामा शुरु भएको जनकपुर–बर्दिवासको रेलको कुरा गरेर जनता नहसाउन भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

भारतसँग रेल ल्याउने सम्झौता भएको दश वर्षमा दुई वटा रेल शुक्रबार नेपाल आएका छन् ।

कांग्रेस सरकारले भारतबाट नेपाल ल्याएकाे २५ वर्ष अगाडिकाे डिजेल इन्जिनकाे रेल
प्रधानमन्त्री गिरिजाप्रसाद काेइरालासँग यातायात संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद चाैधरी
रेल हस्तान्तरण कार्यक्रम
चाैधरीसँग रेलकाे सम्झाैता र रेल हस्तान्तरण गर्दै भारतीय अधिकारी
२५ वर्ष अगाडि भारतबाट ल्याइएकाे डिजेल रेलबाट झर्दै राजेन्द्रप्रसाद चाैधरी
शु्क्रबार नेपाल ल्याइएकाे रेल
Published : Saturday, 2020 September 19, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया