देउवाले भावुक हुँदै गिरिजाप्रसाद र सुशील कोइरालालाई स्मरण गरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा शुभकामना दिँदै शान्ति प्रकृयाका नायक गिरिजाप्रसाद काेइराला र संविधान बनाउन तथा जारी गर्न नेतृत्वदायी भूमिका खेलेका सुशील काेइरालाको स्मरण गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेर मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरूको समर्पण, वलिदानको उच्च कदर गरेका हुन् । उनले संविधान दिवसका अवसरमा वलिदान दिने सबैप्रति श्रद्धाञ्जलि दिएका छन् ।

‘नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो’, देउवाले भनेका छन् ।

‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ’, उनले भनेका छन् ।

‘संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाउँदै आएका छौँ’, शुभकामना सन्देशमा सभापति देउवाले भनेका छन् ।

‘विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ’, उनले भने, ‘यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ ।’

‘उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा म सबैलाई आग्रह गर्दछु’, देउवाले भनेका छन् ।

‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, सभापति देउवाले भनेका छन् ।

‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको ब्यवहार जरुरी हुन्छ’, उनले भने ।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तिन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ’, देउवाले भनेका छन् ।

‘त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बांकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वमा रहेकोे सरकारबाट भइरहेको
छ’, उनले भने, ‘यसलाई मैले गम्भीरतापूर्वक लिएको छु ।’

‘प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरू, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने नियत र ब्यवहार, प्रदेश र स्थानीय सरकारहरूलाई अधिकार, कर्मचारी र बजेट बिनियोजनमा गरिएका विभेदहरू, संवैधानिक अंगहरूको गरिमा अन्त्य गर्ने ढंगले गरिएका ब्यवहारहरू, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असंहिष्णु अभिव्यक्ति, नेकपा नेतृत्वको शासनका यस्ता कार्यले संविधानको सफलता होइन नवीन जटिलतातर्फ मुलुकलाई लैजान सक्दछ’, देउवाले भनेका छन् ।

‘आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक ब्यवहारमा इमानदार बन्न म प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वमा रहेकोे सरकारलाई अपील गर्दछु’, कांग्रेसका सभापति देउवाले भनेका छन् ।

‘अनेक चुनौतीका बावजुद यो संविधानको सफलता संग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडी जरुरी छ’, उनले भने ।

‘यहि आग्रह साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Saturday, 2020 September 19, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया