देउवाकाे निर्देशनले खराब कर्मचारीहरूको साताे उड्याे, कांग्रेसको सरकार आएपछि कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको हितविपरित कुनै गतिविधि नगर्न कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

कोभिड–१९ अनुगमन समितिले शुक्रबार आयोजना गरेको जुम अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले कम्युनिस्ट सरकारको आडमा जनताको हितविपरित काम गरिरहेका कर्मचारीलाई कांग्रेसको सत्ता आएपछि कारबाही गरिने चेतावनी दिएका हुन् ।

उनले सरकारको आडमा जनताको हितविपरितका काममा संलग्न कर्मचारीको सूची तयार गरेर राख्न पनि नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘हाम्रा मान्छेले जितेका गाउँपालिका र नगरपालिकामा कम्युनिस्ट सरकारले बदमास कर्मचारी पठाएर दुःख दिइरहेको छ ।’

‘बदमासी गर्ने, जनताको हितमा काम नगर्ने कर्मचारीलाई भोलिका दिनमा छोड्नेवाला छैनौं’, देउवाले भने, ‘बदमासी गर्ने कर्मचारीको लिस्ट बनाएर राख्नुहोला ।’

कोभिड–१९ को महामारी डरलाग्दो अवस्थामा पुगिसक्दा पनि चिन्ता नभएको भन्दै सभापति देउवालेकम्युनिस्ट सरकारको आलोचना गरेका छन् ।

उनले सरकारलाई भ्रष्टाचार गर्ने चिन्ताबाहेक कुनै पनि कुराको चिन्ता नभएको पनि आरोप लगाएका छन् ।

कम्युनिस्ट सरकारले कोरोना संक्रमण रोकथामका लागि पहल नगरेको उनले आरोप लगाएका छन् ।

‘सरकारलाई भ्रष्टाचार गर्नेबाहेक चिन्ता छैन । न कोभिड अस्पताल बनाएको छ, न संक्रमितका लागि इन्स्योरेन्स गरेको छ’, उनले भने, ‘संक्रमितका बालबालिकालाई हेरेको छैन ।’

कांग्रेसका सभापति देउवाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका नाममा लकडाउन, निषेधाज्ञा गरेर कम्युनिस्ट सरकारले जनता भोकभोकै मर्न बाध्य बनाएको बताएका छन् ।

कम्युनिस्ट सरकारले लकडाउन, निषेधाज्ञा अवधिमा जनताका लागि राहतका कार्यक्रम नल्याएकै कारण सुदूरपश्चिमका जनता आफ्ना परिवार पाल्न भारत जान बाध्य भएका बताएका छन् ।

‘भोकभोकै मर्नुभन्दा रोगबाट मरौंला भनेर सुदूरपश्चिमका दाजुभाइ जहाँ सबैभन्दा बढी कोरोना संक्रमित छन् त्यहाँ जान बाध्य भएका छन्’, देउवाले भनेका छन् ।

Published : Friday, 2020 September 18, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया