गणेशमान र किशुनजीले जस्तो कांग्रेस छाड्ने अवस्था आउनु हुँदैनः तरुण अध्यक्ष बस्नेत

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कांग्रेसमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जसरी पार्टी छाड्ने अवस्था नओस् भनेर अनुरोध गरेका छन् ।

काठमाडौंमा शुक्रबार स्व.गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल काठमाडौं शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै तरुण अध्यक्ष बस्नेतले गणेशमान र किशुनजीले जस्तो पार्टी छाड्ने अवस्था कसैलाई आउन नहुने बताए ।

वीपी कोइरालाका सबैभन्दा निकटका व्यक्ति गणेशमान सिंह रहेको उनले बताए ।

‘वीपीलाई सबैभन्दा धेरै सहयोग र समर्थन गणेशमान सिंहले गर्नुभयो’, उनले भने, ‘वीपीलाई वीपी बनाउने व्यक्तित्व गणेशमान सिंह हो’, अध्यक्ष बस्नेतले भने, ‘गणेशमान सिंहको त्यति ठूलो व्यक्ति थियो । हाम्रो दुर्भाग्य पनि भन्नुपर्छ । त्यस्ता व्यक्तित्व अन्तिम समयमा पार्टी छाड्नु पर्ने अवस्था भयो ।’

‘पार्टी छाडेर बस्नुपर्ने जस्तो अवस्था गणेशमान सिंहजी र किशुनजीलाई जस्तो घटना आगामी दिनमा कसैलाई नहोस्’, बस्नेतले भने, ‘कसैले पनि पार्टी छोड्नुपर्ने दिन नआओस् ।’

तरुण दलका अध्यक्ष बस्नेतले सबै नेता तथा कार्यकर्ता पार्टीमा एकताबद्ध भएर बस्ने अवस्था सधै रहोस् भनेका छन् ।

‘गणेशमान सिंहले देखाएको, कृष्णप्रसाद भट्टराईले देखाएको, वीपी कोइरालाले देखाएको त्यो त्याग तपस्याको बाटोमा हामी हिँड्न पाउँ’, उनले भने, ‘कांग्रेसलाई जनताको पक्षमा लैजानुुपर्छ । जनताको लागि काम गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सभापति सवुजकृष्ण बानियाँले स्व.गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष बस्नेतसहितका तरुण नेताहरू र कांग्रेसका नेताहरूले स्व.गणेशमान सिंहको प्रतिमामा माल्यार्णपन गरेका थिए ।

नेपाल तरुण दलले विभिन्न जिल्लाहरूमा स्व.गणेशमान सिंहको २३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

Published : Friday, 2020 September 18, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया