कांग्रेस सभापति देउवाको पीसीआर रिपोर्ट नेगेटिभ, सबै परिवार सुरक्षित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई कोरोनाभाइरसको नमूना परीक्षण नेगेटिभ आएको छ ।

देउवासहित उनको परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो ।

सभापति देउवासहित सबैको स्वाब बिहीबार संकलन गरिएको थियो ।

शुक्रबार बिहान आएको पीसीआरको रिपोर्टमा सभापति देउवा, डा. आरजु राणा देउवा, छोरासहित परिवारका सबै सदस्यको नेगेटिभ आएको निजी सचिवालयले जनाएको छ ।

दुई जना सहयोगीलाई ज्वरो देखिएपछि केही दिन अगाडि पीसीआर परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएपछि परिवारका सबै सदस्य स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए ।

तीन हप्ता अगाडि उनको निवासमा कार्यरत कर्मचारी र देउवा परिवार सबैको पीसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

सभापति देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित भएको थियो ।

Published : Friday, 2020 September 18, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया