कांग्रेससँग हारेपछि बामदेवको भाग्यको मूल फुट्यो, हारेका कम्युनिस्टहरूको क्लब राष्ट्रिय सभा

काठमाडौं । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम मनोनीत सांसद बनेका छन् ।

राष्ट्रपतिबाट राष्ट्रिय सभाको विज्ञ सांसदमा मनोनीत भएसँग बामदेवले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई अध्यक्ष गणेश तिमिल्सिनाले शपद दिलाएका हुन् ।

सिंहदरबारमा आयोजित शपथ कार्यक्रममा नेपाली कांग्रेसका सांसद र नेताहरू अनुपस्थित रहेका थिए । कांग्रेसका सन्जय गाैतमसँग पराजित भएका बामदेव नेकपाकाे उपाध्यक्ष समेत बनेका छन् ।

शपथ कार्यक्रममा बामदेवलाई बधाइ दिन पुष्पकमल दाहाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेलसहितका नेता तथा सांसदहरूको उपस्थिति रहेको थियो ।

बामदेव मात्रै पराजित भएर राष्ट्रिय सभाको सांसद बनेका पहिलो व्यक्ति होइनन् । नारायणकाजी श्रेष्ठसहित वडा सदस्यमा पराजितहरू पनि राष्ट्रिय सभाको सांसद बनेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा पराजित नेकपाका नेताहरूको क्लव जस्तै बनेको छ । नेकपाका हारेका झण्डै एक दर्जन नेता तथा नेतृहरू सांसद बनेर राष्ट्रिय सभामा छिरेका छन् ।

शपथ कार्यक्रममा बामदेवकी पत्नी तुलसा थापाको पनि उपस्थिति रहेको थियो । तलसा प्रतिनिधि सभाकी समानुपातिक सांसद हुन् । बामदेवले पत्नीलाई समेत सांसद बनाएका थिए ।

कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएपछि बामदेवलाई भाग्यको मूल फुटेको छ । बामदेवले गृह वा अर्थसहित उपप्रधानमन्त्री ताकेका छन् ।

संविधानले बामदेवलाई मन्त्री बन्न बाटो छेकेको छ । तर, संविधानको अपब्याख्या गरेरै भएपनि बामदेव उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने योजनामा रहेको स्रोतको भनाइ छ ।

Published : Thursday, 2020 September 17, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया