कांग्रेस नेता थकाली र नेकपाका वरिष्ठ नेता नेपालबीच अचानक परामर्श

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गरेका छन् ।

वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा बिहीबार भएको भेटवार्तामा कोरोनाको महामारी, संविधानको कार्यान्वयन, सहमति र सहकार्यका साथ कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको कांग्रेस नेता थकालीले बताए ।

मुलुकमा कोरोना महामारीले समस्या बनाएको बताएका कांग्रेस नेता थकालीले जनताको जीवन रक्षा, दैनिक जीविकोपार्जन, उपचार र रोकथामका विषयमा नेता नेपालसँग परामर्श भएको बताए ।

कोरोनाले मुलुकको अर्थतन्त्र धरासायी हुने अवस्थामा जान थालेको भन्दै थकाली र नेपालबीच कुराकानी भएको छ ।

संविधानको अक्षरंस कार्यान्वयनका विषयमा आफूले नेता नेपालसँग गम्भीर कुरा गरेको थकालीले बताए । ‘जनताको संविधानसभाले ल्याएको नयाँ संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने विषयमा कुरा भयो । वरिष्ठ नेता नेपालज्यू पनि गम्भीर भएको पाएँ । उहाँले सहमति र सहकार्यका साथ अगाडि बढेर संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा गर्नुभयो’, कांग्रेस नेता थकालीले भने, ‘कांग्रेसको नेतृत्वमा कांग्रेस र कम्युनिस्ट मिलेर ल्याएको संविधानमाथि चुनौती आउने हो कि भन्ने विषयमा पनि परामर्श भएको छ । संविधान रक्षा गर्ने विषयमा कुराकानी भएको छ ।’

नेता थकाली र नेपालबीच अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पनि कुराकानी भएको थियो । थकाली र नेपाल दुबै अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जानकार छन् ।

चीन र भारतलगायत सबै देशहरूसँग पञ्चशीलका आधारमा अगाडि बढ्नुपर्ने विषयमा उनीहरूका बीचमा कुराकानी भएको थियो ।

मुलुकमा राजनीतिक उथलपुथल भइरहेका बेला कांग्रेस नेता थकाली र नेकपाका नेता नेपालबीच अचानक परामर्श भएको छ । यी दुई नेताबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

Published : Thursday, 2020 September 17, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया